काठमाडौं । सभामुख देवराज घिमिरेले पद्मप्रसाद पाण्डेयलाई संघीय संसदको कार्यवाहक महासचिवमा नियुक्त गरेका छन् । यसअघि यही २४ बाट लागू हुने गरी संघीय संसदको महासचिव डा.भरतराज गौतमले आफ्नो पदबाट राजीनामा दिएपछि आज(२७ गतेबाट)देखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि महासचिवको सेवा सुविधा पाउने गरी संघीय संसदको महासचिवको काम पाण्डेयलाई तोकिएको हो ।
गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरेका थिए । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले आफ्नो अधिकार प्रयोग गर्दै कार्यवाहक तोकेका हुन् ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको उनको सचिवालयले जनाएको छ ।
