काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनुनपर्ने गरी देशभरका ७१ अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।
सम्झौता भएका अस्पतालअन्तर्गत अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा लाभग्राहीले उपचार गर्दा लागेको रकमको २० प्रतिशत मात्र बुझाए पुग्नेछ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा लाभग्राहीले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानी गर्नुपर्ने छैन । नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १५, मधेश प्रदेशका १२, बागमती प्रदेशका २८, गण्डकी प्रदेशका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी कोषको प्रणालीसँग जोडिएका ७१ अस्पतालमा कोषको परिचय पत्र देखाएर सुविधा दिन सक्नेछन् ।