काठमाडौँ । अर्थ मन्त्रालयमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारहरुसँग सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिएका छन् । उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताए ।
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्र सुधारका थप कार्यक्रम ल्याउने गरी सरकारले आन्तरिक तयारी गरिरहेको अर्थमन्त्री महतले बताए । मौद्रिक नीतिबारे अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कसँग निरन्तर छलफलपछि अहिले केही निर्णय आएको र यसले बैङ्क वित्तीय संस्थामा ब्याजदर घटाउन मद्दत पुर्याएको अर्थमन्त्री डा. महतको भनाइ छ ।
चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सरकारको राजस्व सङ्कलन पनि बढेको अर्थमन्त्री महतले बताए । यो अवधिसम्ममा सरकारको राजस्व सङ्कलन सात दशमल ५७ प्रतिशतको वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ । चालु खर्चलाई एउटा सीमामा राखेको र पुँजीगत खर्च बढाउनतर्फ लागेको उनको भनाइ छ ।
सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरी सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गर्ने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ । त्यस्तै, भन्सार राजस्व १३ प्रतिशतले, मूल्य अभिवृद्धि कर (भ्याट) सात दशमलव १९ प्रतिशत र आयकरतर्फ १२ प्रतिशतले बढेको उनले बताए ।
सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । लगानी सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार अगाडि बढाइने उनको भनाइ छ । लगानी सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताहरुको उपस्थितिमा सार्थक लगानी सम्मेलन गर्न सरकार लागिपरेको महतले बताए ।