काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु प्रविधिमैत्री बन्दै जाँदा नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गरेको र पछिल्लो समय बजारमा आएका फोन–पे, आई–पे, इ–सेवा, प्रभु–पेलगायतका डिजिटल पेमेन्ट गेटवे कम्पनीहरुका कारण पनि नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो अवधि नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड २२ लाख ८४ हजार छ सय २२ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा यस्तो सेवा प्रयोगकर्ताहरुको संख्या एक करोड ९२ लाख एक हजार एक सय ७९ छ । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुमा क्रमशः २९ लाख १७ हजार पाँच सय एक र एक लाख ६५ हजार नौ सय ४२ छ । गत आर्थिक वर्षको असोज मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या एक करोड ९१ लाख दुई हजार छ सय ६२ थियो । जसमध्ये वाणिज्य बैंकहरुमा एक करोड ६६ लाख ८० हजार छ सय एक, विकास बैंकहरुमा २३ लाख सात हजार नौ सय ५९ र फाइनान्स कम्पनीहरुमा एक लाख १४ हजार ९२ मोबाइल बैंकिङ प्रयोगकर्ता थिए ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख २५ हजार नौ छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४ हजार सात सय २४ ले कम हो । गत आर्थिक वर्षको असोजमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख १९ हजार सात सय ३३ थियो । चालू आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैंकहरुमा ११ लाख दुई हजार नौ सय १५, विकास बैंकहरुमा पाँच लाख सात हजार नौ सय ३४ र फाइनान्स कम्पनीहरुमा १४ हजार एक सय ६० जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा यस्तो ग्राहकको संख्या क्रमशः १२ लाख ८६ हजार पाँच सय २९, चार लाख २२ हजार तीन सय ७९ र १० हजार आठ सय २५ थियो ।
शाखारहित बैंकिङ सेवा उपभोग गर्ने ग्राहकको संख्या गत असोज मसान्तसम्म तीन लाख १९ हजार आठ सय ३० पुगेको छ । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ हजारले बढी हो । गतवर्ष यस्तो संख्या तीन लाख आठ सय ३० थियो । चालू आर्थिक वर्षको पछिल्लो अवधिमा वाणिज्य बैंकहरुमा तीन लाख ९१ हजार सात सय ८१ र विकास बैंकहरुमा ४९ जना मोबाइल बैंकिङ प्रयोगकर्ता छन् । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंक र विकास बैंकहरुमा यस्तो सेवा प्रयोग गर्ने ग्राहकको संख्या क्रमशः तीन लाख सात सय २३ र एक सय सात थियो । फाइनान्स कम्पनीहरुमा भने शाखारहित सेवा उपभोग गर्ने ग्राहकको संख्या शून्य छ ।