काठमाडौं । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करी गरेको आरोपमा सरकारी कर्मचारीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा अध्यागमन विभाग, नेपाल वायुसेवा निगम र प्रहरीसहित ३२ जना छन् ।
प्रहरीले लामो समयदेखिको अनुसन्धानमा भिजिट भिषामा विदेश पठाई मानव तस्करी गरेको आरोपमा पक्राउ पर्नेमा अध्यागमनका एक जना अधिकृत तथा निगमका दुई जना पदाधिकारी, प्रहरी एक जना, पूर्वप्रहरी दुई जना र ट्राभल एजेन्सीका सञ्चालकहरूसहित ३२ जना रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थीले बताए ।
पक्राउ पर्नेमा अध्यागमनका अधिकृत नरवीर खड्का, निगमका वरिष्ठ सहायक अरविन्द्र यादव, निगमका अर्को अधिकृत होम पोखरेल छन् । त्यस्तै, पक्राउ पर्नेमा ट्राभल एजेन्सी सञ्चालकहरू अनट्र्याट्रिप ट्राभलल्सका सञ्चालक मनुराज चौधरी, स्काइ टुर एन्ड ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली र कर्मचारी रविन अर्याल, रोलेक्स ट्राभल्स सञ्चालक देवराज खनाल र कर्मचारी सञ्जय तामाङ, कर्म चारी राजकिशोर शाह, एड्भान्स म्यानेजमेन्ट एन्ड मल्टिपल टेडिङ सेन्टरका सञ्चालक गणेश पाण्डे र सरोजकुमार यादव छन् । यसअघि अपराध अनुसन्धानकै टोलीले यो गिरोहमा संलग्न रहेको आरोपमा विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई फक्राउ गरेको थियो । फक्राउ परेकालाई लिखितसम्बन्धी कसुर समेतका अपराधमा आवश्यक कारबाहीका लागि विभिन्न स्थानमा पठाइएको छ ।
त्यस्तै, रुकुम सानीभेरी गाउँपालिका वडा नम्बर १० घर भई हाल ललितपुर हात्तीवन बस्ने ३८ वर्षीय अध्यागमन शाखा अधिकृतलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला, सर्लाही विष्णु गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौं जडीबुटी बस्ने ३१ वर्षीय निगमका वरिष्ठ सहायक यादवलाई कारबाहीका लागि प्रहरी वृत्त गौशाला र झापा कमलादी गाउँपालिका वडा नम्बर २ का हाल काठमाडौं बानेश्वर बस्ने ४२ वर्षीय निगमका अधिकृत पोखरेललाई कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको डीएसपी पन्थीले बताए । उनले पक्राउ गरेका अधिकांशले पीडित अर्थात् युवायुवतीमार्फत मोटो रकम लिनेगरेको बताउँदै सबैभन्दा बढी अध्यागमनका कर्मचारीले लिने गरेको बताए ।
प्रहरीका अनुसार भिजिट भिषामा विदेश पठाउनको लागि अध्यागमनका अधिकारीले प्रतिव्यक्ति ४० हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँ र निगमका अधिकारी र ट्राभल एजेन्सी, एजेन्ट, कन्सल्टेन्सीका अधिकारीहरूले प्रतिव्यक्ति १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ लिनेगरेका थिए । प्रहरी जवान तामाङले १० हजार रुपैयाँ लिनेगरेका थिए । उनीहरूले प्लस–टुको प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेन्ट नक्कली बनाउने गरेको तथा विदेश पठाउने काममा संलग्न रहेका थिए । प्रहरीले करिब तीन महिनाको सयममा भिजिट भिषामा विदेश जान लागेका युवायुवतीको शंकास्पद कागजातसहित राहदानी लिई अनुसन्धान गर्दा नक्कली कागजात फेला परेको हो । सो अवधिमा एक हजार पाँच सय १३ थान शंकास्पद कागजातसहित राहदानी लिई अनुसन्धान गर्दा प्रहरीले दुई सय ४६ थान कागजात नक्कली फेला पारेको थियो ।
त्यस्तै, पक्राउ परेकाहरूमध्ये नौ जनामाथि संगठित अपराधमा अनुसन्धान भइरहेको छ भने १२ जनामाथि लिखतसम्बन्धी कसुर र आठ जना धरौटीमा छुटिसकेका छन् । नक्कली कागजात बनाई विदेश जान थालेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सरकारले भिजिट भिषामा कडाइ गरे पनि नक्कली कागजात बनाई विदेश जानेगरेको पाइन्छ । प्रहरीले विभिन्न समयमा भिजिट भिषाको नाममा हुने मानव तस्करीलाई नियन्त्रण गर्ने तथा संलग्नलाई पक्राउ गर्दै आएको पाइन्छ । सरकारले खाडी मुलुकमा नेपाली महिला श्रमिकलाई रोक लगाएपछि भिजिट भिषाको प्रयोग गरी मानव तस्करी हुनेगरेको प्रहरीको भनाइ छ । संयुक्त अरब इमिरेट्स, कुबेत, ओमानलगायतका मुलुकमा भिजिट भिषामा नेपालीहरू काम गर्न जानेगरेको पाइन्छ । पछिल्लो समय स्वयम् अध्यागमनका कर्मचारी भने भिजिट भिषामा नेपालीलई विदेश जान नदिएको दाबी गर्दै आएका छन् ।