कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक साताको लागि भीमदत्त नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा आज(बिहीबार)देखि निषेधाज्ञा जारी गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोकुल कुमार अधिकारीले एक सूचना जारी गर्दै भीमदत्त नगरपालिका ४ मा रहेको संविधान चोक आसपासको क्षेत्रमा शालिक स्थापना गर्न दिने नदिने सम्बन्धमा विभिन्न राजनीतिक दलहरूबीच मतभिन्नता भएकाले सार्वजनिक शान्ति सुव्यवस्थालाई कायम राख्न तथा अत्यावश्यक सेवालाई निर्बाध सञ्चालन गर्नका लागि निषेधाज्ञा गरिएको जानकारी गराएका छन् ।
सूचनाका अनुसार जिल्ला सुरक्षा समिति कञ्चनपुरको सिफारिसमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, ३ (क) बमोजिम यही २८ गतेदेखि ७ दिनसम्मको लागि पाँच जनाभन्दा बढी मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरिएको छ ।
केही दिनयता राप्रपाले संविधान चोकमा पूर्वराजा महेन्द्र शाहको शालिक स्थापनासहित कार्यक्रम गर्ने तयारी गरेको बताइएको छ । संविधान चोकमा रहेको भीमदत्तको शालिकको ठाउँमा राप्रपाले महेन्द्रको शालिक राख्ने तयारी गरेको थियो । त्यसलाई मध्यनजर गर्दै दुई पक्षबीच झडप हुने आशङ्कामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।