काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आर्थिक वर्षको चार महिनाको प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक छन् । आयात घटेको छ भने रेमिट्यान्स र विदेशी विनिमय सञ्चिति बढेको छ । यसैगरी शोधनान्तर स्थिति बचतमा हुनु, विगतका वर्षहरूको तुलनमा वस्तु व्यापारघाटामा कमी आउनुलगायत कारणले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिन्छ ।
तर, केही तथ्यांक भने पत्यारलाग्दा छैनन् । असोज महिनामा सात दशमलव पाँच प्रतिशत रहेको मूल्यवृद्धि कात्तिक महिनामा एकै पटक घटेको देखाइएको छ । यसले पनि तथ्यांकमा केही चलखेल गरेको आकलन गर्न सकिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकमा मूल्यवृद्धि पाँच दशमलव ३८ प्रतिशत मात्र छ । राष्ट्र बैंकले मूल्य घटेको तथ्यांक सार्वजनिक गरे पनि बजारमा आम उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य तिर्नु परेको छ । खाद्य, तरकारीलगायतका उपभोग्य वस्तुमा मूल्य घटेको अनुभव कसैले पनि गर्न पाएका छैनन् । सरकारी तथ्यांक देखेर आम उपभोक्ता अचम्मित छन् ।
समग्रमा मूल्यवृद्धि घटेको देखाइए पनि मरमसलाको मूल्यवृद्धि ३६ दशमलव ४६ प्रतिशत, चिनीको १४ दशमलव ५९ प्रतिशत, फलफूलको १४ दशमलव शून्य एक प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव शून्य दुई प्रतिशत र दुग्धपदार्थ तथा अण्डाको ११ प्रतिशतले मूल्य बढेको छ । यस्तै, घ्यू तथा तेलको १४ दशमलव २३ प्रतिशत र तरकारीको पाँच दशमलव ३५ प्रतिशतले मूल्य बढेको छ ।
काठमाडौं उपत्यकामा मूल्यवृद्धि छ प्रतिशत छ भने तराईमा चार दशमलव ४२ प्रतिशत, पहाडमा छ दशमलव शून्य सात र हिमालमा आठ दशमलव ७९ प्रतिशत मूल्यवृद्धि छ ।
आयात तीन दशमलव आठ प्रतिशतले र निर्यात सात दशमलव सात प्रतिशतले घटेको छ । जसले गर्दा कुल वस्तु व्यापारघाटामा तीन दशमलव तीन प्रतिशतको कमी आएको छ । यस्तै, विप्रेषण आप्रवाह नेपाली रूपैयाँमा २६ दशमलव चार प्रतिशतले र अमेरिकी डलरमा २३ दशमलव एक प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहेको छ भने कुल विदेशी मुद्राको सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रूपैयाँ कायम छ ।
अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक हुँदा सरकारी खर्च र राजस्व संकलन सन्तोषजनक छैन । यो अवधिमा सरकारले तीन खर्ब ५५ अर्ब ६३ करोड खर्च गरेको छ भने दुई खर्ब ७६ अर्ब ६४ करोड संकलन भएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन दुई दशमलव सात प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव तीन प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलव चार प्रतिशत अर्थतन्त्रका यी सबै सूचकहरूको आधारमा पनि मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा गएको राष्ट्र बैंकको भनाइ छ ।
रेमिट्यान्स बढ्यो : अर्थतन्त्र सुधारोन्मुख दिशामा देखिनुको पछाडि रेमिट्यान्सको भूमिका उल्लेख्य देखिएको छ । रेमिट्यान्सकै कारण विदेशी मुद्राको सञ्चिति बढेको राष्ट्र बैंकको भनाइ छ । चालू आवको कात्तिक मसान्तसम्म रेमिट्यान्स २६ दशमलव चार प्रतिशतले बढेर चार खर्ब ७७ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स २३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार चार सय ४१ रहेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९६ हजार सात सय ३५ र ८७ हजार चार सय २८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौ प्रतिशतले वृद्धि भई पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।
चालू खाता एक खर्ब बचतमा : मुलुकको चालू खाता बचतमा देखिएको छ । प्रतिवेदनअनुसार मुलुकको चालू खाता ९६ अर्ब ३८ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३७ अर्ब ७९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दशमलव छ प्रतिशतले कमी आई एक अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब तीन करोड रूपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ११ करोडले बचतमा छ ।
विदेशी विनिमय सञ्चितिले १३ महिना १८ दिनको वस्तु आयात धान्ने
चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १३ महिना १८ दिनको वस्तु आयात धान्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तै ११ महिना नौ दिनको लागि आवश्यक वस्तु तथा सेवा आयात धान्ने सञ्चिति रहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेर २०८० कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ । यो सञ्चिति भनेको चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको आयातलाई आधार मान्दा ११ महिना तीन दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रूपैयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा १० दशमलव आठ प्रतिशतले बढेर भई १४ खर्ब ९० अर्ब ८३ करोड पुगेका छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा छ दशमलव चार प्रतिशतले बढेर दुई खर्ब पाँच अर्ब ९५ करोड कायम भएको छ । २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत छ ।