काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरेको छ । महासंघको सचिवालयमा बिहीबारदेखि विविधतरूपमा सो शाखा स्थापना गरिएको हो । महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तीकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
विगतमा कानुनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्नखाले समस्याहरू सामना गर्नुपरेकोे उनको भनाइ थियो । सिंहले अब त्यस्ता समस्या समाधान हुने बताए । यस्तै, भौतिक मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले शाखाबाट साना निर्माण व्यवसायीहरू बढी लाभान्वित हुने बताए । जिल्लामा रहेका साना निर्माण व्यवसायीहरूका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी), महासचिव रोशन दाहाललगायतले सबैखाले निर्माण व्यवसायीहरूका लागि कानुनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण हुने बताएका थिए ।