काठमाडौं । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रियहितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । परराष्ट्र मन्त्रालयमा आज(शुक्रबार) पद बहाली गरेपछि संक्षिप्त कुरा गर्दै उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरेकी हुन् ।
समूह भावनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्ने बताएकी छन् । देशको परराष्ट्र नीतिअनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने उनले बताइन् ।
त्यस्तै, उनले आतङ्कवादी समूह हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताएकी छन् । नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन् ।
ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान सुझाव दिदैँ उनले रुसी सेनामा नेपाली युवा भर्ती भएको सन्दर्भ कोट्याउँदै अनुमतिपत्र प्रदान गरिने बताएको राससले जनाएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसकेकी सचिव लम्सालले त्यसअघि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रुपमा सेवा गरेकी थिइन् ।