काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई आज(शुक्रबार) रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।
२०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी ०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए । राससले जनाएनुसार आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा भएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि दर्ज्यानी चिह्न प्रदान गरे । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त भएका छन् ।