काठमाडौं । बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि १० अर्ब रूपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बिक्री गरेर बैंक तथा वित्तीय संस्थाबाट सो रकम तान्न लागेको हो । आज आइतबार अपराह्न २ बजेसम्म अल्पकालीन (सात दिन) अवधिका लागि बोलकबोल गर्न लागेको हो ।
पुस १ गतेदेखि नै निष्काशन हुने उपकरणको साँवाब्याज भुक्तानी पुस ८ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेप उपकरण खरिदका लागि बोलबोल पेस गर्न सक्नेछन् ।
खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोकोरूपमा पनि प्रयोग गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ ।