काठमाडौं । लगानीको वातावरण नभएपछि बैंकमा पैसा जम्मा गरेर ब्याज खानेको संख्या बढेको छ । पछिल्लो समय बैंकहरुको मुद्दती निक्षेपमा भएको उच्च वृद्धिले लगानी भन्दा बचत गरेर ब्याज खान चाहनेको संख्या उच्च रहेको देखाउँछ ।
बैंकमा अन्य खाताको तुलनामा मुद्दती निक्षेपमा बढी रकम जम्मा भएको देखिएको छ । मुद्दती खातामा निक्षेपराख्दा बढी ब्याज पाइने भएपछि सर्वसाधारणको आकर्षण बडेको देखिन्छ । यस्तै, बैंक तथा वित्तीय संस्गथाहरूले पनि निश्चित अवधिको लागि रकम चलाउन पाउने भएकाले मुद्दती निक्षेप संकलनमा जोड दिएको देखिन्छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ वटा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब १४ अर्ब ३४ करोड ७० लाख रूपैयाँ छ । जसमध्ये चल्ती खातामा चार खर्ब चार अर्ब ५१ करोड ४० लाख रूपैयाँ, बचत खातामा १५ खर्ब ६५ अर्ब ७२ करोड ६० लाख रूपैयाँ छ ।
मुद्दती खातामा भने सबैभन्दा धेरै ३५ खर्ब ३३ अर्ब २८ करोड ४० लाख रूपैयाँ राखिएको छ । यीबाहेक कल डिपोजिट (मागेको बेलामा पाइने) र अन्य खाताहरूमा राखिएको निक्षेप भने क्रमशः तीन खर्ब ६३ अर्ब ९५ करोड ४० लाख र ४६ अर्ब ८७ करोड २० लाख रूपैयाँ छ ।
सोअनुसार चालू आवको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव सात प्रतिशत, २६ दशमलव सात प्रतिशत र ६० दशमलव दुई प्रतिशत छ ।
अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा वित्तीय संस्थाहरूले कुल ५१ खर्ब ७१ अर्ब ६७ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरेका थिए । जसअन्तर्गत चल्तीमा चार खर्ब दुई अर्ब ३३ करोड ६० लाख, बचतमा १३ खर्ब ६१ अर्ब ३७ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरेका थिए भने मुद्दती खातामार्फत ३० खर्ब १० अर्ब ८४ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरेका थिए । यी बाहेक कल डिपोजिटअन्तर्गत तीन खर्ब ३५ अर्ब ५२ करोड र अन्य शीर्षकअन्तर्गत ६१ अर्ब ५९ करोड ९० लाख रूपैयाँ निक्षेप संंकलन गरेका थिए । सोअनुसार अघिल्लो वर्षमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः सात दशमलव छ प्रतिशत, २६ दशमलव सात प्रतिशत र ५९ प्रतिशत छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको कुल निक्षेप ५२ खर्ब २१ अर्ब ८४ करोड ३० लाख रूपैयाँ रहेकोमा चल्ती, बचत, मुद्दती, कल डिपोजिट र अन्य शीर्षकअन्तर्गतको निक्षेपको हिस्सा क्रमशः तीन खर्ब ९४ अर्ब १९ करोड ८० लाख, १४ खर्ब ११ अर्ब ६४ करोड २० लाख, ३० खर्ब ५४ अर्ब ४९ करोड ६० लाख, तीन खर्ब १६ अर्ब तीन करोड ५० लाख र ४५ अर्ब ४७ करोड २० लाख रूपैयाँ छ ।
विकास बैंकहरूको निक्षेप पाँच खर्ब ७७ अर्ब ६७ करोड ६० लाख रूपैयाँ छ । यस्तै, चल्ती, बचत, मुद्दती, कल डिपोजिट र अन्य शीर्षकमा क्रमशः नौ अर्ब ११ करोड ७० लाख, एक खर्ब ३४ अर्ब आठ करोड २० लाख, तीन खर्ब ९५ अर्ब आठ करोड ५० लाख, ३९ अर्ब चार करोड २० लाख र ३५ करोड रूपैयाँ छ ।
यसैगरी फाइनान्स कम्पनीहरूको पनि पछिल्लो अवधिमा कुल निक्षेप एक खर्ब १४ अर्ब ८२ करोड २८ लाख रूपैयाँ रहेकोमा चल्ती, बचत, मुद्दती, कल डिपोजिट र अन्य शीर्षकअन्तर्गतको निक्षेपको अंश क्रमशः एक अर्ब १९ करोड ८० लाख, १९ अर्ब ९९ करोड ९० लाख, ८३ अर्ब ७० करोड ३० लाख, आठ अर्ब ८७ करोड ९० लाख र एक अर्ब पाँच करोड रूपैयाँ छ ।