दोलखा । बिहीबारदेखि सुरु भएको चौथो बैतेश्वर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हनुमन्तेश्वर माविले हात पारेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।
बैतेश्वर गाउँपालिकाको आयोजना तथा हनुमन्तेश्वर माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगितामा हनुमन्तेश्वर माविले १० स्वर्ण, पाँच रजत र चार कास्यसहित १९ पदक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । यस्तै, जनज्योति मावि सात स्वर्ण, चार रजत र दुई कास्यसहित १३ पदक प्राप्त गर्दै दोस्रो भएको छ भने सनराइज एकेडेमी तीन स्वर्ण, चार रजत र तीन कास्यसहित १० पदक प्राप्त गर्दै तेस्रो भएको छ । प्रतियोगितामा पहिलो, दोस्रोले र तेस्रोले सिल, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा २२ वटा खेलहरू समावेश गरिएको थियो ।
राष्ट्रपति रनिङ शिल्डमा पालिकाभित्रका आठ वटा सामुदायिक र एक निजी विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम पालिका अध्यक्ष छवि लामा र बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले गरेका थिए । प्रतियोगिताअन्तर्गतको भलिबलतर्फको खेलमा छात्रतर्फ जनज्योति मावि पहिलो बनेको थियो भने छात्रातर्फ सनराइज एकेडेमी पहिलो बनेको थियो । त्यस्तै, भलिबल छात्रतर्फ दोस्रो जलदेवी मावि, तेस्रो विष्णु मावि बनेको छ भने भलिबल छात्रातर्फ दोस्रो विष्णु मावि र तेस्रो हनुमन्तेश्व मावि बनेको छ ।