काठमाडौं । नेपालमा सहज तरिकाले पैसा पठाउने माध्यमका लागि एनआईसी एशिया बैंक र संयुक्त अरब इमिरेट्स (युएई)स्थित एक एक्स्चेन्जबीच सम्झौता भएको छ । युएईमा रहेका नेपालीले नेपालमा सजिलै रकम पठाउन सकुन भन्ने उद्देश्यका साथ एनआईसी एशिया बैंक र युएईस्थित एल अन्सारी एक्सचेन्जबीच साझेदारी भएको हो ।
उक्त सम्झौता अनुसार युएईमा बजार विस्तार गरिरहेको उक्त कम्पनीका दुई सय ५० भन्दाबढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा रकम पठाउन सहज हुने दुबै साझेदारको विश्वास रहेको छ । साझेदारी कार्यान्वयनमा आएपश्चात् अब अन्सारी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ ।
भौतिक रुपमा युएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटल रुपमा दरिलो उपस्थिति रहेको उक्त एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एनआईसी बैंकका तीन सय ६० शाखा कार्यालय, एक सय ११ विस्तारित काउन्टर, ५५ वटा शाखारहित बैंकिङ्ग इकाई र १६ हजारभन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ ।
साथै, बैंकका अनुसार एनआईसी बैंकको मोबाइल बैंकिङ्ग एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ ।
एनआईसी बैंकको मुलुकभर तीन सय ६० शाखा कार्यालयहरू, छ सय ५६ एटिएम, एक सय ११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार रहेको छ । साथै, बैंकले स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कूल २३ अर्ब ५८ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा तीन अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व बुझाएको जनाएको छ ।