काठमाडौं । गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको बताएकी छिन्।
उनले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताइन् । सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको उनले सुझाव दिइन् ।
सो अवसरमा मन्त्री शर्माले सरकारी सञ्चार माध्यमबाट नागरिकको ठूलो अपेक्षा रहने भएकाले आवाजविहीनको आवाज बन्न गोरखापत्र संस्थानका प्रकाशनहरु सक्नुपर्ने उनले सुझाव दिइन् ।
मन्त्रालयका सचिव कृष्णबहादुर रावतले गोरखापत्र संस्थानका प्रकाशनहरु समयअनुसार प्रतिस्पर्धी बनिरहे पनि अझै परिपक्व र गुणस्तरीय बनाउन आवश्यक रहेको बताए। उनले सरकारी सञ्चार माध्यमप्रति नेपाली जनता र आम पाठकको ठूलो अपेक्षा रहेकाले गुणस्तरीय सामग्री उत्पादन गर्न आग्रह गरे ।