काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने रामेछाप घर भएका २६ वर्षीय पोसाक सुनुवार पक्राउ परेका छन् । काठमाडौंको मैपी बस्ने उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको हो ।
उनले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति नौ लाख ५० हजार लाग्छ भनेका थिए । माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलबमा काम लगाइदिन्छु भनि प्रलोभनमा पारी पीडित गुरुङबाट पटकपटक गरी तीन लाख ३० हजार रुपैयाँ लिई सुनुवार सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।