काठमाडौं । बैंकिङ प्रणालीमा ६० खर्ब रुपैयाँ निक्षेप पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समग्र बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब तीन अर्ब रुपैयाँ पुगेको छ । साउनयता निक्षेप निरन्तर बढ्दै गएको छ । आर्थिक मन्दीले लगानीका अन्य क्षेत्रहरु ठप्प भएपछि मानिसहरुले आफूसँग भएको पैसा निक्षेप राखेर ब्याज खाने प्रवृत्ति बढ्दा निक्षेपको आकार तीव्ररुपमा बढिरहेको देखिन्छ । असार मसान्तमा ५७ खर्ब ७० अर्ब रहेको निक्षेप पाँच महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँले बढेको छ ।
वाणिज्य बैंकहरुसँग मात्रै ५३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप छ । बाँकी छ खर्ब ९१ अर्ब रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको केन्द्रीय बैंकले जनाएको छ ।
मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ९२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४४ खर्ब १७ अर्ब रुपैयाँ लगानी गरेका छन् भने अन्य वित्तीय संस्थाले पाँच खर्ब ७५ अर्ब रुपैयाँ लगानी गरेका छन् । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा रकम ४८ खर्ब ७९ अर्ब रुपैयाँ थियो । असारयता मंसिरसम्म बैंकहरुको कर्जा लगानी एक खर्ब १३ अर्ब रुपैयाँ बढेको छ।
निक्षेप निरन्तर बढ्दै गए पनि कर्जाको माग न्यून हुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गएको छ । बिहीबारसम्म सीडी रेसियो ८० दशमलव ३६ प्रतिशतमा झरेको छ । बैंकहरुबीचको अन्तरबैंक कारोबारको ब्याजदर दुई दशमलव ६२ प्रतिशत कायम भएको छ । बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ प्रतिशत, २८ प्रतिशत र ६६ प्रतिशत छ । बैंकहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ प्रतिशतभन्दा बढी छ ।
अर्थतन्त्र सुस्त भएका बेला मानिसहरुले आफूसँग भएको पैसा व्यापार व्यवसायमा लगाउनेभन्दा निक्षेपमा राखेर ब्याज खाने प्रवृत्ति देखा परेको छ । यस्तै, महँगो ब्याजदरमा कर्जा लिएर व्यवसाय विस्तार गर्दा नोक्सानी हुने डरले उद्योगी–व्यवसायीले कर्जा लिएर व्यवसाय गर्न डराएका छन् । कर्जाको ब्याजदर घटेर एकल अंकमा नझर्दासम्म ठूलो परिमाणमा लगानी बढ्ने सम्भावना देखिँदैन । लगानी नबढ्दासम्म बैंकको निक्षेपको वृद्धि उच्चदरमा हुने बैंकिङ विज्ञहरुको विश्लेषण छ । बजारमा आर्थिक गतिविधि न्यून छ । निजी क्षेत्रले आर्थिक गतिविधि बढाउन सरकारले पुँजीगत खर्च व्यापक बढाउनुपर्ने सुझाव दिँदै आएको छ । तर सरकारी खर्च बढ्न सकेको छैन ।
अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक छन् । अधिकांश आन्तरिक आर्थिक सूचकहरु पनि दबाबमुक्त देखिन्छन् । कात्तिकमा साढे सात प्रतिशत रहेको मूल्य वृद्धिदर मंसिरमा पाँच दशमलव ३८ प्रतिशतमा झरेको छ । यी तथ्यांकको आधारमा अर्थतन्त्रमा सुधारको संकेत त देखापरेको भनिएको छ तर, आम नागरिकले त्यसको अनुभूति अझै गर्न पाएका छैनन् । महँगीले उपभोक्ताको क्रयशक्ति घट्दा माग घटेको छ, जसको कारण उत्पादन न्यून छ । उत्पादन खुम्चिँदा बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गर्न जोखिम हुने भन्दै निजी क्षेत्रले कर्जाको माग गरेको छैन ।
एक साताअघि राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत केही नीतिगत लचकता अपनाएपछि सेयरबजारलगायतका क्षेत्रमा चहलपहल बढेको छ । केही बैंकले ब्याजदर घटाइसकेका छन् । बिस्तारै कर्जाको ब्याज पनि घट्ने बैंकरले बताएका छन् । कर्जाको ब्याजदर घटेमा माग बढ्न जाने र बजार चलायमान भई आर्थिक क्रियाकलाप बढ्ने विश्वास गरिएको छ ।