काठमाडौं । वित्तीय क्षेत्रमा भएको नीतिगत अस्थिरताका कारण उद्योगी व्यवसायी मारमा परेको सरोकारवालाहरूले बताएका छन् । विराटनगरमा आइतबार आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरू यस्तो बताएका हुन् ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले वित्तीय क्षेत्रमा नीतिगत स्थिरता नहुँदा व्यवसायीहरू टिक्ने वातावरण नभएको बताए । संगठनले आयोजना गरेको वर्तमान आर्थिक परिदृष्यः चरम निराशा कि नय“ा सम्भावनाको टर्निङ पोइन्ट ? विषयक अर्थसंवादमा उनले चालू पुँजी कर्जासम्बन्धी व्यवस्थाको उदाहरण दिँदै राष्ट्र बैंकले छोटो समयको अन्तरालमा अनावश्यक नीति परिवर्तन गरिदिँदा समस्या उत्पन्न भएको गुनासो गरे ।
त्यसैगरी नीतिगत मात्र नभई सेवा प्रवाहमा समेत जवाफदेहिता नभएको उनको भनाइ थियो । राजनीतिज्ञले स्थिर नीति ल्याउने र कर्मचारीतन्त्रले सेवा प्रवाहमा जवाफदेही बन्नुपर्नेमा उनले जोड दिए । सेवा प्रवाहमा देखिएको चरम लापरबाहीको उदाहरणका रूपमा उनले चालू आर्थिक वर्षको बजेटमा जीआई वायरको निर्यात गर्दा कच्चा पदार्थमा लागेको अन्तःशुल्क फिर्ता दिने घोषणा बजेट आएको छ महिना व्यतित भइसक्दा समेत कार्यविधि आउन नसकेकोलाई प्रस्तुत गरेका थिए ।
यस्तै, उनले हाल मुलुकको अर्थतन्त्र संकटमा रहेको र औद्योगिक क्षेत्र मात्रै होइन समग्र समाज नै नराम्रोसँग प्रभावित भएको बताए । वर्तमानको अर्थतन्त्रलाई लिएर सर्वत्र चासो भए पनि निकाश दिनेतर्फ भने खासै ध्यान नपुगेकोमा चिन्ता व्यक्त गरे । ‘राजनीतिक मुद्दामा मात्रै चासो, सरोकार र बहस हुने गरेको हाम्रो समाजमा आर्थिक विषयमा बहस र छलफल केन्द्रित हुनु आफैँमा सकारात्मक संकेत हो । यद्यपि, अधिकांश छलफलहरू नकारात्मक भाष्य निर्माण गर्नेतर्फ उन्मुख रहेको छ’ उनले भने ।
कार्यक्रममा सुुरानाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेको विराटनगर आईसीपीसम्मको रेल्वे कार्गो सेवा हालसम्म पनि सुचारु हुन नसकेको बताए । भारत र नेपालका उद्योगमन्त्रीले रेल उद्घाटन गरेकै दिन हस्ताक्षर गरेको ट्रिटी अफ ट्रान्जिट सम्झौतामा कलकत्ताबाट विराटनगरसम्म रेल कार्गोका रूपमा बल्क आइटम मात्रै ल्याउन पाउने प्रावधानका कारण यस क्षेत्रका उद्योगले अन्य वस्तु कार्गो रेलमार्फत ल्याउन नसक्ने उनको भनाइ थियो ।
यस्तो अव्यावहारिक सम्झौता गरेर सरकारले हदैसम्मको लापरबाही गरेको उनले आरोप लगाए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पर्यटन, विद्युत्, कृषि, सूचना प्रविधि, सिमेन्टजस्ता सेवा तथा उत्पादनमूलक उद्योगमा लगानी केन्द्रित गर्न उद्योगीहरूलाई आग्रह गरेका थिए । उनले साना उद्योगमा लगानी गरी निर्यात गर्न चाहने उद्योगलाई वित्तीय संस्थाले सरलरूपमा कर्जा प्रवाहको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । यस्तै, सांसद सुमना श्रेष्ठले अर्थतन्त्रको सबलीकरणका लागि तथ्याङ्क र अनुसन्धानका माध्यमबाट अन्तरवस्तु केलाई यस क्षेत्रको विकासमा देखिएका समस्यालाई नीतिगत र कार्यगत सुधार गर्दै स्वदेशी उद्योगको प्रतिष्पर्धी क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले निजी क्षेत्रका संघसंस्थाले स्वतन्त्ररूपमा अध्ययन अनुसन्धान गरी अर्थतन्त्रको वास्तविक अवस्था चित्रण गरी नीति निर्मातालाई झक्झकाउनुपर्नेमा जोड दिइन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले उद्योग व्यवसायको प्रवद्र्धन गर्नु मन्त्रालयको दायित्व भएकाले यस क्षेत्रको समस्यालाई क्रमशः समाधान गरिँदै लैजाने आश्वासन दिएका थिए । उनले लगानीमैत्री वातावरण निर्माण गर्नु मन्त्रालय र मातहतका निकायको प्रमुख जिम्मेवारी भएको बताउँदै हतास एवम् निराश नहुन उद्योगीलाई आग्रह पनि गरे । मुलुकको आर्थिक अवस्थालाई लिएर नकारात्मक भाष्य मात्रै हाबी भएको भन्दै उद्योग संगठन मोरङले आर्थिक सार्वजनिक बहसमार्फत सकारात्मकतातर्फ मोड्ने प्रयत्नको गरेको उल्लेख गरेको छ ।