काठमाडौं । शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’को चौथो संस्करण आयोजना हुने भएको छ । नेपाली सेनाले आयोजना गर्ने यो अभ्यास आगामी फागुन ८ गतेबाट २१ गतेसम्म सञ्चालन हुनेछ ।
संयुक्त राज्य अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसियटिभ (जीपीओआई)को सहयोगमा सञ्चालन हुने अभ्यासको पूर्वतयारीस्वरूप गत मंसिर २५ गतेबाट २९ गतेसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा नेपाल, अमेरिका, अष्ट्रेलियालगायतका देशहरूका प्रतिनिधिहरू सम्मिलित प्लानिङ कन्फ्रेन्स सञ्चालन भएको थियो ।
नेपाल, बंगलादेश, श्रीलंका र संयुक्त राज्य अमेरिकाका सैनिकहरू सम्मिलित भई नेपालमा सन् २००० मा पहिलो पटक अभ्यास ‘शान्ति प्रयास’ सञ्चालन भएको थियो । यस्तै सन् २०१३ मा २३ राष्ट्रका आठ सय ५० सैनिकहरू र सन् २०१७ मा २९ राष्ट्रका ११ सय ३५ सैनिकहरू सम्मिलित भई यसको दोस्रो र तेस्रो संस्करण सञ्चालन भइसकेको छ ।
अभ्यास शान्ति प्रयासको यो चौथो संस्करणमा नेपालसहित २२ राष्ट्रका सैनिकहरूको सहभागिता रहने प्रारम्भिक अनुमान छ । अभ्यासमा कर्मचारी प्रशिक्षण कार्यक्रम (एसटीई), फिल्ड प्रशिक्षण कार्यक्रम (एफटीई), चुनौती सामना र क्षमता अभिवृद्धि (२सीई) गरी तीन किसिमका गतिविधिहरू समावेश हुनेछन् । यस्तै, सोही अवधिभित्रै शान्ति कार्यसम्बन्धी क्षेत्रीय प्रशिक्षण गोष्ठी पनि आयोजना हुनेछ ।
यसप्रकारको अभ्यासबाट शान्ति स्थापना कार्यमा देखापरेका चुनौतीहरूका बारेमा सहभागी राष्ट्रका सैनिकहरू अवगत हुनुका साथै ती चुनौतीहरू सामना गर्न आवश्यक क्षमता एवं समान व्यावसायिक कार्यशैली विकास गर्न मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।