मुलुकमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आएको १७ वर्ष भइसक्दा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव भनाउन छाडेका छैनन् । पछिल्लो पटक सोमबार पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालयबाट जारी भएको सूचनामा पनि त्यस्तै देखिएको छ ।
यसअघि विजयादशमी, नयाँ वर्ष वा प्रजातन्त्र दिवसजस्ता विशेष दिनमा जारी हुने वक्तव्यमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई श्री ५ महाराजधिराज भन्दै आएका छन् । उनका संवादसचिव डा. फणिराज पाठकले सोमबार जारी गरेको संवाद सचिवालयको सूचनामा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाह नेपालको पश्चिम क्षेत्र र मध्यपश्चिम क्षेत्रको केही जिल्लाहरुको भ्रमणको सिलसिलामा आगामी हप्ता भैरहवा सवारी होइबक्सँदै छ ।’यो वक्तव्यले १७ वर्षअघि अन्त्य भएको राजतन्त्र अहिले पनि यथावत् रहेको देखाएको छ । तर, यसको बारेमा अहिलेसम्म चुक्क समेत बोलेको छैन ।