मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाहरुको शाखासंख्या पनि घट्दै गएको छ । तर, एटीएम काउन्टरको संख्या भने बढ्दै गएको छ । चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको शाखा ३४ वटाले घटेको छ । २०८० असार मसान्तमा ११ हजार पाँच सय ८९ वटा शाखा रहेकामा कात्तिक मसान्तमा ११ हजार पाँच सय ५५ कायम भएको छ । एटीएम काउन्टरको संख्या भने तीन सय ९४ वटाले बढेको छ ।
अहिले नेपालमा २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाइनान्स कम्पनी, ५७ वटा लघुवित्त र एकवटा पूर्वाधार विकास बैंक गरी कुल एक सय १२ वटा संस्था सञ्चालनमा छन् ।वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्थाको शाखासंख्या छ हजार चार सय २९ रहेको छ । यो संख्या गत आर्थिक वर्षको अन्तिमको तुलनामा ३२ वटाले कम हो । गत असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको शाखा संख्या छ हजार चार सय ६१ थियो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको चार महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरुको साखासंख्या बढेको छ । विकास बैंकका पाँचवटा र फाइनान्स कम्पनीको चारवटा शाखा बढेका छन् । वाणिज्य बैंकको भने ४१ वटा शाखा घटेको देखिन्छ । गत असार मसान्तमा वाणिज्य बैंकको शाखासंख्या पाँच हजार ४९ रहेकोमा कात्तिक मसान्तमा घटेर पाँच हजार आठमा झरेको छ । यस्तै गत असारमा विकास बैंकको शाखा एक हजार एक सय २८ रहेकामा कात्तिक मसान्तमा एक हजार एक सय ३३ छन् । फाइनान्स कम्पनीको शाखा पनि असारमा दुई ८४ रहेकामा कात्तिकसम्म बढेर दुई सय ८४ पुगेको छ ।
यो अवधिमा वाणिज्य बैंकहरुको चार हजार छ सय ५८, विकास बैंकहरुको तीन सय ४६ र फाइनान्स कम्पनीहरुको ४४ सहित कुल पाँच हजार ५८ वटा एटीएम काउन्टर सञ्चालनमा छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन सय ९४ वटाले बढी हो । गत आर्थिक वर्ष वाणिज्य बैंकहरुको एटीएम संख्या चार हजार दुई सय ९५, विकास बैंकहरुको तीन सय २५ र फाइनान्स कम्पनीहरुको ४४ गरी कुल चार हजार छ सय ६४ वटा एटीएम काउन्टर सञ्चालनमा थिए ।
अधिक तरलतानियन्त्रण गर्न १० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा भएको अधिक तरलतालाई नियन्त्रण गर्न राष्ट्र बैंकले फेरि १० अर्ब रूपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बिक्री गरेर बैंक तथा वित्तीय संस्थाबाट सो रकम तान्न लागेको हो । आज मंगलबार अपराह्न २ बजेसम्म अल्पकालीन (१४ दिन) अवधिका लागि बोलकबोल गर्न लागेको हो ।पुस ३ गतेदेखि नै निष्काशन हुने उपकरणको साँवाब्याज भुक्तानी पुस १७ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेप उपकरण खरिदका लागि बोलबोल पेस गर्न सक्नेछन् ।
खरिदकर्ताले घटीमा १० करोड र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ ।