पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध सात सय ४४ जनाभन्दा बढी बचतकर्ताले प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले गत मंसिर १९ गते सूचना जारी गर्दै सहकारीबाट पीडित भएका बचतकर्तालाई जाहेरी दरखास्त दिन आह्वान गरेपछि उनीहरूले उजुरी दर्ता गराएका हुन् ।
सबै बचतकर्ताको दाबी २० करोड रुपैयाँभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए । जाहेरीकर्ता अझै थपिन सक्ने भएको हुँदा दाबी रकम बढ्न सक्ने उनले बताए । यसअघि सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय अध्ययन तथा विश्लेषणबाट भने बचतकर्ताको २६ करोड ८० लाख रुपैयाँ अपचलन भएको देखाएको थियो । रजिस्ट्रारको कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन प्रहरी कार्यालयमा बुझाइसकेको छ ।
सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा अध्ययन अनुसन्धान जारी रहेको डीएसपी बिकले बताए । उनका अनुसार सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवम् ठगी गरेको विषयमा अनुसन्धानकै क्रममा छ ।
सहकारीबाट पीडित भएका बचतकर्ताले सहकारी ऐनसम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा कारबाहीको माग गरेका छन् । उजुरीका लागि समयसीमा तोकिए पनि आउने थप जाहेरीलाई पनि लिइने डीएसपी बिकले जानकारी दिए ।
सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारीसहित केही व्यक्ति पक्राउ परिसकेकाले उनीहरूलाई अब सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अघि बढाउने तयारी कास्की प्रहरीको छ । बैकिङ कसुरबाहेक अब उनीहरूलाई सहकारीको रकम अपचलनको मुद्दा पनि थपिएको छ । अध्यक्ष पौडेल र प्रबन्धक अधिकारीले दर्जनौँ नक्कली खाता र नक्कली युजर आईडी बनाएर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।सहकारी ऐन २०७४ को दफा १२२ मा सहकारी सदस्यको बचत ऐन, नियम र विनियम बमोजिमबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग भएमा कसुर गरेको मानिने व्यवस्था गरेको छ । सहकारीको यसै प्रकरणमा ३० जनाविरुद्ध पक्राउपुर्जी जारी भएसँगै अधिकांश फरार छन् ।