विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवारलाई उपचार सेवामा २५ प्रतिशत छुट दिने भएको छ ।नेपाल प्रहरी श्रीमती संघ र नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबीच सोमबार छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा संघकी अध्यक्ष लक्ष्मी कुवँर र अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा (बराल)ले हस्ताक्षर गरेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सोमबार आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा संघकी अध्यक्ष कुँवरले प्रहरी कर्मचारीहरू र आश्रित परिवारहरूको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले सम्झौता गरिएको बताइन् । यसले सकल दर्जाको मनोबल उच्च भई शान्ति सुरक्षा कार्यमा थप सहजता प्रदान हुने उनको भनाइ थियो ।
कार्यक्रममा नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा शर्मा (बराल)ले सामाजिक उत्तरदायित्व बहन गर्दै जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरूलाई उपचारमा सहुलियत उपलब्ध गराइएको बताइन् । आगामी दिनमा दुवै पक्षको समन्वय र सहकार्यमा सहुलियतमा थप गर्दै लगिने लक्ष्य रहेको उनले जानकारी दिइन् ।
सम्झौताअनुसार नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवार सदस्यहरू (आमा, बुबा, श्रीमान् वा श्रीमती, अविवाहित छोरा, छोरीहरू) लाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ । साथै, भर्ना भई उपचार गराउँदा समेत अन्तरङ्ग विभागमा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने सम्झौता–पत्रमा उल्लेख गरिएको छ । हाललाई १ वर्षको सम्झौता अवधि रहेकोमा पुन थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ ।