चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब तीन सय ८० किलो अवैध लागूऔषध गाँजा भएको ट्रकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल मंगलबार बिहान पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा गाँजासहित पक्राउ गरेको हो । ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।