बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण ऋणीले कर्जाको साँवा र ब्याज भुक्तानी गर्न नसक्दा बैंकहरूको खराब कर्जा अर्थात् निष्क्रिय कर्जा बढेको हो । निष्क्रिय कर्जा बढ्दै गएपछि बैंकहरूका लागि कर्जा असुली टाउको दुखाइको विषय बनेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा तीन दशमलव ६६ प्रतिशत देखिएको छ । यो तथ्यांक सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरी कुल ५४ वटा संस्थाको हो । यी वित्तीय संस्थाले कात्तिक मसान्तसम्म ५९ खर्ब १२ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ खर्ब ७६ अर्ब ४७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा एक दशमलव ९८ प्रतिशत थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ५१ खर्ब ८२ अर्ब ५४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब ८३ अर्ब ४२ करोड ७० लाख कर्जा प्रवाह गरेका थिए ।यस आर्थिक वर्षकोे कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले ५२ खर्ब २६ अर्ब ५५ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब एक अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा तीन दशमलव ६१ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक दशमलव ७८ प्रतिशत विन्दुले बढी हो ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरूले ४५ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३३ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । गतवर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा एक दशमलव ८३ प्रतिशत थियो ।विकास बैंकहरूले यस वर्ष कात्तिक मसान्तसम्म पाँच खर्ब ७३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८२ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूको निष्क्रिय कर्जा औसतमा तीन दशमलव १९ प्रतिशत छ ।
गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब १८ अर्ब ३६ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ५८ अर्ब पाँच करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गतवर्ष पहिलो चार महिनामा विकास बैंकहरूको औसत निष्क्रिय कर्जा दुई दशमलव ३२ प्रतिशत थियो ।वाणिज्य बैंक र विकास बैंकको तुलनामा फाइनान्स कम्पनीहरूमा कर्जा समस्या बढी देखिएको छ । गत कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीको निष्क्रिय कर्जा आठ दशमलव ३७ प्रतिशत छ ।
फाइनान्स कम्पनीहरूले कात्तिक मसान्तसम्म एक खर्ब १४ अर्ब तीन करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको कात्तिक मसान्तसम्म फाइनानस कम्पनीहरूले एक खर्ब पाँच अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब चार करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो बेला फाइनान्स कम्पनीको निष्क्रिय कर्जा छ दशमलव ९९ प्रतिशत थियो ।
नाफा घट्यो
निष्क्रिय कर्जा बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरूको नाफामा असर परेको छ । चार महिनामा बैंकहरूको नाफा २२ अर्ब ६२ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ५९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
यस वर्ष बैंकहरूको ब्याज आम्दानीसँगै खर्च बढेको र सम्भावित कर्जा नोक्सानीका लागि बढी रकम प्रोभिजन गर्नुपर्दा बैंक तथा वित्तीय संस्थाको नाफा घटेको हो ।
चार महिनामा बैंक तथा वित्तीय संस्थाले स्रोत परिचालन गरेर दुई खर्ब ३५ अर्ब ९२ करोड रुपैयाँ ब्याज आम्दानी गर्दा एक खर्ब ६३ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका छन् । बैंकहरूको खुद ब्याज आम्दानी ७२ अर्ब ४९ करोड रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ११ करोड रुपैयाँ मात्रै बढी हो । खुद ब्याज आम्दानी खासै बढ्न नसकेको अवस्थामा प्राभिजन रकम उल्लेख्यरूपमा बढ्दा बैंकहरूको नाफा प्रभावित भएको हो ।राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण भएको कर्जामा एक दशमलव २५ प्रतिशत, सूक्ष्म निगरानीमा रहेको कर्जामा पाँच प्रतिशत, कमसल वर्गमा वर्गीकरण भएकोमा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र निष्क्रिय कर्जामा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ ।भाका नाघेको एक महिनादेखि तीन महिनासम्मको कर्जालाई सूक्ष्म निगरानीमा, तीनदेखि छ महिनाको कर्जालाई कमसल, छ महिनादेखि एक वर्षसम्मकोलाई शंकास्पद र एक वर्षभन्दा बढी समयसम्म साँवा र ब्याज भुक्तानी नगरेको कर्जालाई निष्क्रिय वर्गमा वर्गीकरण गर्नुपर्छ ।