दोलखाको बैतेश्वर गाउँपालिकाले वडा नम्बर–१ गैरिमुदीका सुत्केरी तथा गर्भवती महिलाहरूलाई पोषण सामग्री वितरण गरेको छ । पालिकाले हजार दिने आमा तथा गर्भवती महिलालाई पोषण सामग्रीअन्तर्गत पर्ने हर्लिक्स, चना, दुई क्रेटका दरले अन्डा, गेडागुडी, साबुनलगायतका सामग्री वितरण गरेको हो ।
पालिकाको चालू वर्षको महिला तथा बालबालिका लक्षित कार्यक्रमअनुसार वडा नम्बर–१ का दुई वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरूलाई उक्त सामग्री वितरण गरिएको बैतेश्वर गाउँकार्यपालिका सदस्य ठूलीकान्छी विकले जानकारी दिइन् । पोषणसामग्री वितरण बैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती र वडाध्यक्ष भीमबहादुर तामाङको उपस्थितिमा गरिएको थियो । पालिका अध्यक्ष लामाले गाउँपालिकाले वडा नम्बर–१ मात्रै नभई सबै वडामा पोषण कार्यक्रम सञ्चालन गर्ने बताए ।