त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट १४ सय थान मोबाइलको डिस्प्ले बरामद गरिएको छ । हिजो मंगलबार नेपालगञ्जबाट काठमाडौं आएको यति एयरको उडान नम्बर एनवाईटी ४२४ बाट आएको उक्त बिलविनाको सामान सशस्त्र प्रहरीको इन्टेलिजेन्सको टोलीले बरामद गरेको हो । विमानस्थलमा सशस्त्र प्रहरीको इन्टेलिजेन्सबाट पनि टोली खटिने गरेको छ ।
हिजो साँझ ५ः३५ बजे नेपालगञ्जबाट आएको उक्त यति एयरको विमानमा सुपर काइनेटिक कुरियरबाट भन्सार छलेर ल्याएको बिलबिजक र प्रज्ञापनपत्र नभएका फोनका डिस्प्लेहरु बरामद गरिएको हो । त्यसमा आइफोन, सामसुङलगायतका फोनका डिस्प्लेहरु रहेको बताइएको छ ।विमानस्थलको टोलीले सशस्त्रकै प्रहरी नायब उपरीक्षक प्रदीप राईको टोलीलाई बरामद गरेको ती सामान जिम्मा लगाइएको छ । राई राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा खटिएका प्रहरी अधिकारी हुन् ।
१२ वटा कार्टुनमा ती सामान नेपालगञ्जबाट काठमाडौं ल्याइएको थियो । उक्त सामान एक सय ५० केजी मात्र रहेको छ । उक्त सामानहरु जय माँ दुर्गा इम्पेक्सको नाममा काठमाडौंमा ल्याइएको हो । कार्गो नम्बर १०८४९९२ उल्लेख भएको सामान जय माँ दुर्गा इम्पेक्सको नाममा छ कार्टुन र न्यौपाने टे«डर्सको नाममा कार्गो नम्बर १०८५०३८ मा छ कार्टुन रहेको छ । ती सामानहरु राजस्व अनुसन्धान विभागले हिजो मंगलबार अबेरसम्म पनि खोलेको छैन ।