काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ऋणको आकार ५० खर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पुस २ गतेसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल ऋण लगानी ५० खर्ब पुगेको हो । यसमध्ये वाणिज्य बैंकहरूले मात्रै लगानी गरेको ऋणको आकार ४४ खर्ब २४ अर्ब रुपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीले पाँच खर्ब ७६ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।
बजारमा कर्जाकोे माग न्यून भएपछि गत आर्थिक वर्षको सुरुदेखि नै लक्ष्यअनुरूप कर्जा विस्तार हुन सकेको थिएन । रुस–युक्रेन युद्धपछि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले बजारमा महँगी बढाएको थियो । महँगी नियन्त्रणका लागि केन्द्रीय बैंकले ब्याजदर बढाउने नीति लिएपछि कर्जाको माग खुम्चिएको हो । जसका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा विस्तार सुस्त छ ।
चालू आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब २१ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंकहरूले प्रवाह गरेको ऋणको आकार ४८ खर्ब ७९ अर्ब रुपैयाँ थियो ।
पछिल्लो समय आर्थिक मन्दीका कारण मानिसहरूले लगानी गर्नभन्दा बैंकमा निक्षेप राखेर ब्याज खान सुरक्षित मानेकाले लगानी खुम्चिँदै गएको छ । यसको असर बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋणमा पनि परेको छ । निक्षेप उच्च दरमा बढ्ने तर कर्जाको माग निकै कम हुने अवस्थाले बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि घट्दै गएकोे छ ।
बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन् । तर, अहिले सीडी रेसियो ८० दशमलव २५ प्रतिशतमा छ । यसको मतलव बैंकहरूले अझै निक्षेपको १० प्रतिशत पैसा लगानी गर्न सक्छन् । राष्ट्र बैंकका अनुसार पुस २ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब २२ अर्ब रुपैयाँ छ । यो निक्षेपमध्ये बैंकहरूले ५४ खर्ब १९ अर्ब रुपैयाँ ऋण लगानी गर्न पाउँछन् । तर, अहिलेसम्म ५० खर्ब रुपैयाँ लगानी भएको छ । अझै चार खर्ब १९ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।