काठमाडौं । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले कामै गर्न नपाएको गुनासो पोखेका छन् ।
नेपाल एयरलाइन्स उडाउने तर भाडा चाहिँ नतिर्ने भन्दै उनले नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको बताए । प्रयोगमा नरहेका चिनियाँ जहाज लिलामीमा आफूले नै राख्न लगाएको बताउँदै उनले भने, ‘चलाउन नसक्ने जहाज किन सुकाएर राख्ने ? जसले दायित्व मात्र सिर्जना गर्छ, त्यो पालेर के काम ?’
निगमको ऋण ४९ अर्ब रहेको भन्दै उनले एक वर्षमा २२ अर्ब कमाएको बताए । प्रयास गरे एक वर्षमै ऋण आधा तिर्न सकिने सम्भावना रहेको मन्त्री किराँतीको भनाइ छ । कानुन बनाउने प्रक्रिया धेरै ढिला भएको भन्दै उनले मन्त्रालयबाट उठेको विधेयक अर्थ, कानुन मन्त्रालयमा झुन्डिएर बसेको बताए ।