काठमाडौं । मुलुकको ऋण दायित्व २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पछिल्लो पाँच महिना (मंसिर)सम्म आन्तरिक र बाह्य गरी सरकारले तिर्नुपर्ने ऋणको दायित्व करिब २४ खर्ब रुपैयाँ पुगेको हो । यसमध्ये आन्तरिक ऋण ११ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ६८ करोड रुपैयाँ छ ।
पाँच महिनामा सरकारले ७१ अर्ब ९० करोड रुपैयाँ ऋण थपेको छ । असार ३१ गते सरकारको ऋण दायित्व २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो । साउन १ गतेयता सरकारले एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ ऋण प्राप्ति गरी ५९ अर्ब ३७ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ ।
असार मसान्तमा अन्तरिक ऋण ११ खर्ब २९ अर्ब १० करोड रुपैयाँ रहेकोमा एक खर्ब ११ अर्ब ३१ करोड ऋण प्राप्ति र ४२ अर्ब ८४ करोड भुक्तानी गरेको छ । यस्तै, बाह्य ऋण ११ खर्ब ७० अर्ब २४ करोड रुपैयाँ रहेकोमा १९ अर्ब ९७ करोड ऋण प्राप्ति गरेको छ भने १६ खर्ब ५३ अर्ब साँवा भुक्तानी गरेको छ ।
सरकारले आन्तरिक ऋणतर्फ साउनमा २५ अर्ब ८४ कारेड ६९ लाख रुपैयाँ, भदौमा १५ अर्ब ७६ करोड ५३ लाख रुपैयाँ, असोजमा १४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ, कात्तिकमा आठ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ र मंसिरमा पाँच अर्ब १७ करोड ५२ लाख रुपैयाँ समेत गरी कुल ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरेको छ । आन्तरिक ऋणको लागि भुक्तानी गरिएको कुल रकममध्ये ४२ अर्ब ८४ करोड १६ लाख रुपैयाँ साँवा र २७ अर्ब ७२ करोड २३ लाख रुपैयाँ ब्याज छ ।
बाह्य ऋणतर्फ सरकारले साउनमा एक अर्ब ९० करोड ४० लाख रुपैयाँ, भदौमा चार अर्ब ३६ करोड नौ लाख रुपैयाँ, असोजमा चार अर्ब ८८ करोड ५६ लाख रुपैयाँ, कात्तिकमा पाँच अर्ब ११ करोड ५८ लाख रुपैयाँ र मंसिरमा चार अर्ब ९३ करोड २१ लाख रुपैयाँ गरी कुल २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ । बाह्य ऋणको कुल भुक्तानीमध्ये साँवा १६ अर्ब ५३ करोड १६ लाख रुपैयाँ र ब्याज चार अर्ब ६६ करोड ६८ लाख रुपैयाँ भुक्तानी भएको छ ।
आन्तरिक ऋण र बाह्य ऋण गरी साउनमा १५ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ, भदौमा ३६ अर्ब ५० करोड ७७ लाख रुपैयाँ, असोजमा ६० अर्ब ५५ करोड ७० लाख रुपैयाँ, कात्तिकमा एक अर्ब ८७ करोड ५५ लाख रुपैयाँ र मंसिरमा १६ अर्ब ५६ करोड १६ लाख रुपैयाँ गरी सरकारले कुल एक खर्ब ३१ अर्ब २८ करोड दुई लाख रुपैयाँ ऋण प्राप्त गरेको छ । यो ऋणमा आन्तरिक ऋणको हिस्सा एक अर्ब ११ अर्ब ३१ करोड र बाह्य ऋणको हिस्सा १९ अर्ब ९७ करोड दुई लाख रुपैयाँ छ ।
