काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घटेर चिसो बढेको छ ।
महाशाखाका अनुसार शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच र अधिकतम तापक्रम १९ डिग्रीसेल्सियस रहेको छ । पछिल्लो तीनरचार दिनयता काठमाडौँको न्यूनतम तापक्रम चार देखि पाँच र अधिकतम तापक्रम १७ देखि १९ डिग्रीसेल्सियसको हाराहारी रहेको छ । तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महशुस गरिएको छ ।
महाशाले जुम्लामा सबैभन्दा कम माइनस दुई दशमलव आठ र जोमसोममा माइनस तीन दशमलव पाँच तापक्रम मापन गरिएको उल्लेख गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
पुस ७ गते शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।