अंगोला । अफ्रिकन मुलुक अंगोला तेल उत्पादक राष्ट्रहरुको संगठन (ओपेक)बाट बाहिरिने घोषणा गरेको छ । अंगोलाका तेल मन्त्री डायमान्टिनो अजेभेडोले पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठनले आफ्नो देशको हितमा काम नगरेको बताए । अंगोलाको यो निर्णयले तेल उत्पादक समूहलाई झट्का दिएको बताइएको छ ।
सन् २००७ मा ओपेकमा सामेल भएको अंगोलाले प्रतिदिन लगभग एक दशमलव एक मिलियन ब्यारेल तेल उत्पादन गर्दै आएको छ । अंगोलाले नोभेम्बरमा भएको बैठकमा सन २०२४ को लागि उत्पादन कोटा कटौती गर्ने ओपेकको निर्णयको विरोध गरेको थियो ।
अंगोला बाहिरिएको खबर आउनुअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलर हाराहारी थियो । अंगोलाको निर्णयसँगै बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल एक डलरले घटेको छ । ब्रेन्ट कच्चा तेल प्रतिब्यारेल ७९ डलरभन्दा तल झरेको छ ।