काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ८ गते अर्थात् आज आइतबार पुनः १७ अर्ब ११ करोड २५ लाख रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस २ गते पनि राष्ट्र बैंकले १४ अर्ब ३३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति पुस ११ गते बुधबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः २८ दिन अवधिको पाँच अर्ब, ९१ दिन अवधिको १० अर्ब ११ करोड २५ लाख र तीन सय ६४ दिन अवधिको दुई अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकको भनाइ छ । जसमध्ये २८ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८० माघ ९ गते, ९१ दिन अवधिको २०८० चैत्र १३ गते र तीन सय ६४ दिन अवधिको २०८१ पुस ९ गते परिपक्व हुने अवधि तोकिएको छ ।