पाटन (ललितपुर) । पूर्वप्रधानमन्त्री सन्त नेता भट्टराईको शताब्दी जन्मदिवसका उपलक्ष्यमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राखेका छन् ।
आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विमर्शसभामा सभापति देउवाले सन्त नेता भट्टराई नेपालका एक त्यागी व्यक्तित्वका रुपमा आफूले पाएको बताए । सभापति देउवाले आजको समयमा सन्त नेता भट्टराईबाट सिकेर गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउनुपर्ने धारणा पनि व्यक्त गरे ।
नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले किसुनजी सरकारको नेतृत्व र पार्टी सञ्चालनमा अनुशासित ढङ्गले काम गरेका निष्ठावान् व्यक्तित्वका रुपमा स्मरण गरे । उनले अप्ठ्यारा दिनमा पनि पार्टीमा दुःख पाएका कार्यकर्तालाई सहयोग गरेर हिसाबकिताब राख्दै पार्टी चलाएर नेपाली कांग्रेसलाई सशक्त बनाउने योगदान स्वर्गीय भट्टराइले गरेको बताए ।
उनले किसुनजीलाई जनता, कार्यकर्ता र विश्वले विश्वास गर्नेगरी आफूलाई स्थापित गर्न सफल व्यक्तित्वका रुपमा स्मरण गरे । उनले सरकार सञ्चालनमा किसुनजीले देखाएको बाटो अनुशरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कांग्रेस उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले जीवनभर देश, जनता र प्रजातन्त्रका लागि अविश्राम लागि परेका व्यक्तित्व किसुनजीको निष्ठा र साद्गीपनको अनुशरण गर्नसकेमा उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा राखे ।