काठमाडौं । मंसिर महिनामा एक खर्ब २९ अर्ब ७० करोड रुपैयाँको आयात भएको छ । भन्सार विभागका अनुसार कात्तिक महिनामा भन्दा मंसिरमा २४ अर्ब ९६ करोड रुपैयाँ बढीको वस्तु आयात भएको छ । कात्तिकमा एक खर्ब चार अर्ब ७४ करोडको आयात भएको थियो ।
चालू आर्थिक वर्षको पाँच महिनामा छ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ३९ प्रतिशतले कम हो । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म छ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँबराबरको आयात भएको थियो ।
निर्यात व्यापारमा पनि गिरावट आएको छ । तथ्यांकअनुसार मंसिर मसान्तसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा जम्मा आठ दशमलव ९६ प्रतिशत छ । आयातको हिस्सा ९१ दशमलव शून्य चार प्रतिशत छ ।
मंसिरसम्म ६३ अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा छ दशमलव शून्य नौ प्रतिशतले कम हो । गत आर्थिक वर्षको मंसिर मसान्तमा ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको थियो । मंसिर महिनामा १२ अर्ब ६४ करोडको निर्यात भएको छ । यो निर्यात कात्तिक महिनाको तुलनामा दुई अर्ब ९५ करोडले बढी हो । कात्तिकमा नौ अर्ब ६९ करोडको आयात भएको थियो ।
व्यापारघाटा झण्डै छ खर्ब
व्यापारघाटा पाँच खर्ब ७९ अर्ब रुपैयाँ छ । कात्तिकमा चार खर्ब ६१ अर्ब ९४ करोड व्यापारघाटा थियो । गत आर्थिक वर्षको मंसिर महिनाको तुलनामा यस वर्ष मंसिर मसान्तमा व्यापारघाटा तीन दशमलव शून्य नौ प्रतिशतले कम भएको छ ।
मंसिरसम्म सात खर्ब पाँच अर्ब ४१ करोडको वैदेशिक व्यापार भएको छ । यो गत आर्थिक वर्षको तुलनामा तीन दशमलव ६४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको मंसिरसम्म सात खर्ब ३२ अर्ब पाँच करोडको वैदेशिक व्यापार भएको थियो ।
पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी
साउनदेखि मंसिरसम्म पेट्रोल, डिजल, मट्टीतेल र ग्यासको खपत बढेको छ । यो अवधिमा एक खर्ब २८ अर्ब ६३ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।
पेट्रोलियम पदार्थपछि फलाम तथा स्टिलजन्य वस्तुको आयात सबैभन्दा धेरै भएको छ । ५२ अर्ब ४४ करोडको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ । त्यसपछि विद्युतीय उपकरण तथा पाट्र्सको आयात ४५ अर्ब २४ करोडको भएको छ । यस्तै मेसिनरी पाट्र्स ३९ अर्ब ४२ करोड, सवारीसाधन २९ अर्ब २० करोड, पलास्टिकजन्य वस्तु २३ अर्ब ९९ करोडको आयात भएको छ । यस्तै, औषधि १६ अर्ब ८० करोड रुपैयाँ, मल १५ अर्ब १७ करोड, तरकारीजन्य वस्तु १४ अर्ब ९७ करोडको आयात भएको छ ।
भारतबाट करिब चार खर्बको आयात
कुल आयातमा भारतबाट सबैभन्दा धेरै तीन खर्ब ९४ करोड ८० लाख रुपैयाँको आयात भएको छ । त्यसपछि चीनबाट एक खर्ब २५ अर्ब ६२ करोडको आयात भएको छ ।
भारत र चीनपछि यूएईबाट बढी आयात भएको छ । यूएईबाट १२ अर्ब १८ करोडको आयात भएको छ । त्यसपछि युक्रेनबाट आठ अर्ब १६ करोडको आयात भएको छ । मलेसियाबाट सात अर्ब २५ करोड, अस्ट्रेलियाबाट छ अर्ब २८ करोड, इन्डोनेसियाबाट पाँच अर्ब ६५ करोडको आयात भएको छ ।