काठमाडौं । सामाजिक सुरक्षा कोषमा ४६ अर्ब ४५ करोड रुपैयाँ योगदान रकम जम्मा भएको छ । यो तथ्यांक गत मंसिर मसान्तसम्मको हो । कोषमा सूचीकृत योगदानकर्ताको संख्या पनि बढ्दै गएको छ । मंसिरसम्म नौ लाख ९९ हजार आठ सय छ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् ।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न सुरु गरेको थियो । करिब चार वर्षको अवधिमा कोषमा जम्मा भएकोे योगदान रकम करिब ५० अर्ब पुग्न लागेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए ।
मंसिर महिनामा मात्रै कोषमा करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ । कात्तिक मसान्तमा ४४ अर्ब ५० करोड योगदान रकम रहेकामा मंसिरमा एक अर्ब ९४ करोड थपिएर ४६ अर्ब ४५ करोड पुगेको छ । पछिल्लो केही महिनायता मासिक करिब दुई अर्ब रुपैयाँबराबर योगदान रकम संकलन भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीलाई पनि सामाजिक सुरक्षामा आबद्ध गराइएपछि मासिकरूपमा हुने योगदान रकम बढ्दै गएको हो ।
गत आर्थिक वर्षको अन्तिमसम्म ३५ अर्ब ९५ करोड रुपैयाँ योगदान रकम संकलन भएको थियो । यस आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ ।
सरकारले स्वदेशका साथै वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकलाई कोषमा आबद्धता गरेसँगै सूचीकृत योगदानकर्ता र योगदान रकममा वृद्धि भएको हो । कोषले चैत दोस्रो सातदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषमा आबद्ध गरेको थियो । त्यसयता वैदेशिक रोजगारीमा रहेका करिब साढे दुई लाख श्रमिक कोषमा आबद्ध छन् ।
कोषले भदौदेखि सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूलाई पनि सूचीकृत गर्दै आएको छ । जसले गर्दा योगदानकर्ता, योगदान रकम बढ्ने निश्चित देखिन्छ । यसअघि औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारीमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षामा जोड्दै आएकोमा दायरा फराकिलो बनाउँदै अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति पनि कोषमा आबद्ध हुनसक्ने व्यवस्था गरिएको हो । अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्ति कोषमा आबद्ध हुनआउने क्रम बढ्दै गएको कोषले जनाएको छ ।
मंसिर मसान्तसम्म १८ हजार पाँच सय १९ जना योगदानकर्ता सूचीकृत भएका छन् । यो अवधिमा नौ लाख ९९ हजार आठ सय छ जना योगदानकर्ता सूचीकृत भएका छन् ।
कोषले स्थापनाकालदेखि सामाजिक सुरक्षा करको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐनबमोजिम कार्य गर्दै आएको छ । सोही ऐनको दफा १० मा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्नसक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको हुँदा सोही अनुरुप काम गर्दै समेत आएको छ । मंसिर मसान्तसम्म कोषमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ८० करोड ६९ लाख रुपैयाँ दाबी परेको छ । यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत नौ करोड एक लाख लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ११ करोड १६ लाख रुपैयाँ र अवकाश रकम पाँच अर्ब ७६ करोड ३२ लाख रुपैयाँ दाबी परेको छ । कोषले अहिलेसम्म कुल छ अर्ब ७७ करोड ५६ लाख रुपैयाँँ कुल दाबी भुक्तानी गरेको छ ।
कोषले दाबी भुक्तानीको लागि मापदण्ड पूरा भए/नभएको अध्यययनपछि रकम निकासा गर्ने गर्छ । दाबी गरिएको रकम प्रक्रिया बुझेर सहज ढंगले भुक्तानी गर्ने कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।
आर्थिक वर्ष २०७५/७६ मा २४ हजार तीन सय ३० जना, आर्थिक वर्ष २०७६/७७ मा एक लाख ३२ हजार सात सय २२ जना, आर्थिक वर्ष २०७७/७८ मा ३६ हजार २० जना र आर्थिक वर्ष २०७८/७९ मा एक लाख २७ हजार एक हजार १६ जना योगदानकर्ता कोषमा सूचीकृत भएका छन् ।
कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता तथा श्रमिकको सूचीकरण गर्ने, योगदान रकम संकलन गर्ने, कोषमा जम्मा भएको रकम परिचालन गर्ने, सुविधा योजनाहरूको दाबी भुक्तानी व्यवस्थापन गर्ने, कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको सञ्जाल विस्तार गरी गुणस्तरीय र प्रभावकारी स्वास्थ्य उपचार पद्धतिमा पहुँच स्थापित गर्नेजस्ता कार्यहरू गर्दै आएको छ । कोषले गर्ने कार्य सम्पादनलाई प्रविधिमैत्री बनाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने समेत बताएको छ । बैकिङ प्रणलीमार्फत सामाजिक सुरक्षा भत्ता वितरणका लागि तीन सय ९८ वाट स्थानीय तहले बैंकसँग सम्झौता गरी बैंक खातामा भुक्तानी समेत गर्दै आएको पाइन्छ ।
सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सामाजिक सुरक्षा सूचना प्रणाली सफ्टवयेर तयार गरी कार्यान्वयनमा ल्याइएको छ । प्रविधिमैत्री हुने क्रममा वैशाखदेखि कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट सेवा प्रदान गरिएको छ ।
कोषले ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरी रकम सापटी लिन सक्ने सुविधा प्रदान गरेको छ । सो निर्देशिकाअनुरूप योगदानकर्ताले योगदानकर्ता घर र शैक्षिक सापटी’को व्यवस्था गरिएको थियो । ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ ।
शैक्षिक सापटीअन्तर्गत भने कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । सुविधा दिने क्रममा कोषले योगदान रकममा आठ प्रतिशत ब्याज दिन समेत थालेको छ । कोषमा संकलन भएको रकमलाई सुरक्षित लगानी गरी प्रतिफल निकाल्नेमा विश्वस्त रहेको भन्दै ब्याजदर तोकिएको कोषका अधिकारीहरूले बताएका छन् ।