पोखरा । पोखरामा पाँचवटा सहकारीमा बचत भएको झण्डै तीन अर्ब रुपैयाँ जोखिममा परेको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम जोखिममा परेको हो ।
यी सहकारीहरूमा जम्मा भएको दुई अर्ब ८३ करोड ३७ लाख ७१ हजार रुपैयाँ जोखिममा परेको छ । पोखरामा समस्याग्रस्त भएका अन्य सहकारी पनि छन् तर ती सहकारीमा भएको बचत यसमा समावेश गरिएको छैन । अन्य सहकारीका समस्याका विषयमा चर्चा भए पनि प्रहरीमा उजुरी परेको छैन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पाँचवटा सहकारीका सञ्चालकविरुद्ध तीन हजार छ सय नौ जना बचतकर्ताले उजुरी दिएका छन् । प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार शिवशिखर सहकारीका एक हजार एक सय ३९ जना सेयरधनी र इमेज सहकारीका पाँच सय २४ जना सेयरधनीले उजुरी दर्ता गराएका छन् । यसैगरी सूर्यदर्शनका १० हजार ३४, बलिदानी सहकारीका एक सय ९८ र मित्रमिलन सहकारीका ७ सय १४ जना सेयरधनीले प्रहरीमा उजुरी दिएका छन् ।
सेयरधनीले उजुरी गरेका संस्थाका सञ्चालक तथा कर्मचारी सबैविरुद्ध प्रहरीले पक्राउपुर्जी समेत जारी गरेको छ । पक्राउपुर्जी जारी भएकामध्ये शिवशिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा, व्यवस्थापक लिलानाथ गौतम, सदस्य अमिसराज भण्डारी र अर्का सदस्य पुस्कर मल्ल अदालतमा मुद्दा पेश भई पुर्पपक्षका लागि कारागार चलान भइसकेका छन् भने बाँकी फरार छन् ।
यता, इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारी गरेर १५ जनालाई पक्राउपुर्जी जारी भएको छ । सोमध्ये अध्यक्ष चित्रबहादुर भण्डारी, सदस्य बिमला गुरुङ, लेखासमिति संयोजक शक्ति किसान, लेखासमिति सदस्यहरू भूमी भण्डारी, निशा कार्की र विष्णु पौडेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएकोमा दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने चार जना धरौटीमा छुटेका छन् । बाँकी फरार छन् ।
यसैगरी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका १९ जनालाई पक्राउ पुर्जी जारी भएकामा कोषाध्यक्ष कुमार रम्तेलमात्र पक्राउ परेका छन् । उनी पुर्पक्षको लागि कारागार चलान भएका छन् भने बाँकी फरार छन् । यस्तै, बलिदानी बचत तथा ऋण सहकारी संस्थाका १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखासमिति सदस्य सचिना थापा पक्राउ परेकोमा तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने दुईजना धरौटीमा छुटेका छन् । बाँकी १० जना फरार छन् ।
हालसालै समस्याग्रस्त बनेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, कर्मचारी र विभिन्न ढंगले अपचलन गर्नेहरू समेत गरेर ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूमध्ये अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल पक्राउ परेका छन् । बाँकी २७ जना फरार छन् । यही सहकारीको प्रकरणमा जोडिएर करोडभन्दा बढी घुस लिएका पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत फरार भएका छन् ।
प्रहरीका अनुसार फरार भएकाहरूको खोजी कार्य जारी छ । पोखरामा सञ्चालन भएका अन्य केही सहकारी पनि समस्याग्रस्त अवस्थामा पुगेका छन् । कतिपय सहकारीले कार्यालय खुला गरे पनि बचतकर्ताका बचत फिर्ता गर्न सकेका छैनन् ।