पोखरा । पोखराको मुस्ताङ चोकमा लाग्ने शनिबारे अर्गानिक हाटमा ग्राहकको आर्कषण बढेको छ । नेपाल गृह श्रमिक महिला संघ र जागरण महिलाद्वारा संयुक्तरुपमा आयोजित हाटमा ग्राहकको आर्कषण बढेको हो ।
प्रत्येक शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुने हाटमा आफ्नो घरमै लगाइएको तरकारी तथा खाद्य सामाग्री किन्न तथा अवलोकन गर्न पाइन्छ । हाटमा साग, धनिया, तरूल, पिँडालु, च्याउ, धूप, गेडागुडी, अर्गानिक फापरको पिठोबाट बनाएको कुकिजहरु राखिएको छ ।
नेपाल गृह श्रमिक महिला संघकी अध्यक्ष गीता पौडेलका अनुसार हाटले विशेष गरि पोखरेलीको ध्यान तानेको छ । हाटमा बिहानैदेखि तातो सेल रोटी र अर्गानिक अचार खान पाइन्छ । साथै टाढा टाढाबाट चिया पिउनका लागि पनि हाटमा आउने गरेका छन् ।
खानेमात्रै नभई घरमा नै लैजान मिल्ने गरि आफूहरुले सेवा दिइरहेको अध्यक्ष पौडेलले बताइन् । हाटमा आउनेहरुलाई समूह आफैले बनाएको दुना टपरीमा सेल, अचार दिने गरिएको जागरण महिलाकी सचिव सीता राना मगरले बताइन् । अर्गानिक स्वाद टिपिकल शैलीमा पस्कने हुँदा आम सर्वसाधारणको आर्कषण बढेको उनले बताइन् ।