काठमाडौं । लक्ष्मी सनराइज बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस २६ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आफ्नो २३ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । बैंकको यही पुस चार गते बसेको सञ्चालक समितिको दुई सय ८४ औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट सात प्रतिशतका दरले हुन आउने एक अर्ब ५१ करोड ६९ लाख १६ हजार छ सय ५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कर प्रयोजनको लागि शून्य दशमलव ३७ प्रतिशतका दरले हुन आउने सात करोड ९८ लाख ३७ हजार सात सय १८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको पनि बैंकले जानकारी दिएको छ ।