काठमाडौं । आर्थिक दैनिक प्रालिका अध्यक्ष एवं आर्थिक दैनिकका संस्थापक सम्पादक प्रह्लाद रिजालको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा मंगलबार मुटुको ‘एन्जियोप्लास्टी’ गरिएको छ । केन्द्रका डा. चन्द्रमणि अधिकारी नेतृत्वको छ जना चिकित्सकको टोलीले मुटुमा रक्तसञ्चार गर्ने नशामा देखिएको अवरोध सफलतापूर्वक खुलाएको छ ।
मुटुको साँघुरिएका एवं बन्द भएका रगतका धमनी र शिराहरूलाई खुला गराई मुटुसम्म सहजरूपमा रक्तसञ्चार पु-याउन एन्जियोप्लास्टी गर्ने गरिन्छ । नियमित परीक्षणका क्रममा अध्यक्ष रिजालको मुटुमा रक्तसञ्चार हुने मुख्य नशामा ‘ब्लकेज’ देखिएपछि तत्काल एन्जियोप्लास्टी गरिएको हो ।
एन्जियोप्लास्टीपछि साँघुरिएका एवं बन्द भएका रगतका धमनी र शिराहरू खुला भई मुटुसम्म रक्तसञ्चार पु¥याउने भएकाले उक्त कार्य गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । एन्जियोप्लास्टीपछि छाती दुख्ने एवं हृदयघात हुनबाट बचाउनेछ । एन्जियोप्लास्टीपछि एक दिन निगरानीमा राखेर अध्यक्ष एवं संस्थापक सम्पादक रिजाललाई बुधबार अस्पतालले ‘डिस्चार्ज’ गरेको छ ।