काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै तीन लाख रुपैयाँ लिई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । धनुषाको धनुषाधाम नगरपालिका घर भई हाल ललितपुरको टिकाथली बस्ने २० वर्षीय दिपेन्द्र कुमार राउतले अजय कुमार साहलाई वैदेशिक रोजगारीको लागि कुवेतको एक होटलमा ६५ हजार मासिक तलबमा काम लगाइदिन्छु भन्दै उक्त रकम लिएका थिए ।
राउतले कुवेत जानको लागि चार लाख रुपैयाँ लाग्छ भन्दै पीडित साहबाट पटकपटक गरी तीन लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अुनसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले टिकाथलीबाट पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएकोछ ।