भोजपुर । करिब रु. तीन करोड लागतमा पर्यटकीय क्षेत्र गुफा पोखरीमा निर्माणाधीन गुफा पोखरी सामुदायिक लिफ्टिङ खानेपानी आयोजनाको काम ८० प्रतिशत सम्पन्नभई अन्तिम चरणमा पुगेको छ ।
आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थालिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा रहेको योजना निर्माणको कामलाई यस वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए । यो क्षेत्रमा पानीको अति नै समस्या रहेकाले कार्यालयले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उनको भनाइ छ । पर्यटकीय क्षेत्र गुफा पोखरी, सुके पोखरी र जोर पोखरीका स्थानीयलाई लक्षित गरेर आयोजना निर्माण भइरहेको प्रमुख सिंहले बताए ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश आर्चायले आयोजनाको मुहानबाट सात सय मिटर मुख्य पाइपलाई विस्तार, विद्युत् जडान र मुख्य ट्याङ्की निर्माणलगायतको काम सकिएको बताए । तत्काललाई यहाँका पर्यटकीय क्षेत्रका करिब ६५ घरपरिवारले पानी उपभोग गर्न पाउने भए पनि यो आयोजनाबाट एक सय ५० बढी परिवारलाई पानी खुवाउने लक्ष्य रहेको उनको भनाइ छ ।
विविध कारणले विगतमा निर्माणमा ढिलाइ भइरहेको अवस्थामा यो वर्ष भने कामले धेरै तीव्रता पाएको आर्चायले बताए । धेरै उचाइमा रहेको तथा भौगोलिकरुपमा धेरै कठिनाई रहेको अवस्थामा योजना सञ्चालनका लागि कार्यालयले खेलेको भूमिका प्रशंसायोग्य रहेको अध्यक्ष आचार्यको भनाइ छ ।
चैनपुर नगरपालिका–१ मा रहेको यो आयोजनास्थल भौगोलिकरुपमा निकै दुर्गम मानिन्छ । विगतमा ओझेलमा परेको योजनाको कामले नयाँ कार्यालय प्रमुख आएपछि तीव्रता पाएको निर्माण उपभोक्ता समितिका सचिव सन्तोष लिम्बूले बताए । पानीको हाहाकार रहेको अवस्थामा आयोजनाको कामले तीव्रता पाएपछि स्थानीयमा उत्साह थपिएको उनको भनाइ छ । गुफा पोखरी पर्यटकीय क्षेत्र रहेकाले पानी विस्तारले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने स्थानीयको भनाइ छ ।