काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिन्छु भन्दै दुई जनाबाट २६ लाख रुपैयाँ लिई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । बुढानीलकण्ठ बस्ने ५९ वर्षीय भैरव बहादुर ठकुरीले रोजगारीको लागि अमेरिका पठाईदिन्छु भन्दै कृतेश खरेलसहित दुई जनाबाट उक्त रकम लिएका थिए ।
अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब तीन लाख रुपैयाँमा काम लगाइदिन्छु भन्दै उनीहरुबाट ठकुरीले पटकपटक गरी २६ लाख रुपैयाँ लिएका थिए । उक्त रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ पासीकोटबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त घटनासम्बन्धमा थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।