काठमाडौं । नेपाल राष्ट्र बैंकले यही पुस ७ गते अद्यावधिक गरेको बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनअनुसार बैंकिङ क्षेत्रको कुल निक्षेप ६० खर्ब ३४ अर्ब रूपैयाँ छ । यस्तै बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ५० खर्ब सात अर्ब रूपैयाँ छ ।
बैंकिङ प्रणालीमा निक्षेप र कर्जाबीचको फरक १० खर्ब २७ अर्ब रूपैयाँ छ । वाणिज्य बैंकहरूको मात्र कुल निक्षेप ५३ खर्ब ४२ अर्ब रूपैयाँ छ भने ४४ खर्ब ३० अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकसँग निक्षेप र कर्जा प्रवाहबीचको फरक नौ खर्ब १२ अर्ब रूपैयाँ छ ।
यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप छ खर्ब ९२ अर्ब रूपैयाँ छ भने कुल कर्जा पाँच खर्ब ७७ अर्ब रूपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल निक्षेप र कर्जा रकमको फर पनि एक खर्ब १५ अर्ब रूपैयाँ छ । बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) ८० दशमलव १७ प्रतिशत छ । बैंकहरूले सीडी रेसियो ९० प्रतिशतको सीमामा रहेर कर्जा प्रवाह गर्न पाउँछन् । यस अर्थमा बैंक तथ वित्तीय संस्थाले थप चार खर्ब २४ अर्ब रूपैयाँ कर्जा प्रवाह गर्न सक्छन् । तर, बजारमा कर्जाको माग अपेक्षा गरेअनुसार बढ्न सकेको छैन । यहीकारण बैंकले अहिले अधिक तरलताको समस्या झेलिरहेका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता समस्या हुँदा लगानीयोग्य रकमको दुरूपयोग हुने सम्भावना पनि त्यतिकै हुन्छ । सोही कारण पनि राष्ट्र बैंकले अधिकतरलतालाई तोकिएको सीमामा राख्न र लगानीयोग्य रकमको दुरूपयोग रोक्न चालू आर्थिक वर्षको पछिल्लो डेड महिना अर्थात् यही मंसिर छ गतेदेखि पुस १२ गतेसम्मको अवधिमा १४ पटक अल्पकालीन अवधिको निक्षेप उपकरण जारी गरिसकेको छ । यस अवधिमा राष्ट्र बैंकले सात दिन र १४ दिनमा परिपक्व हुने दुई खर्ब ५० अर्ब रूपैयाँबराबरको निक्षेप संकलन उपकरण जारी गरेर वित्तीय प्रणालीबाट लगानीयोग्य रकम खिचिसकेको छ । यसरी खिचिएको मध्ये एक खर्ब ३५ अर्ब रूपैयाँबराबरको निक्षेप उपकरण परिपक्व भई वित्तीय प्रणालीमा फिर्ता गइसकेको छ भने बाँकी रहेको एक खर्ब १५ अर्ब रूपैयाँ निक्षेप उपकरण परिपक्व हुने क्रममा छ ।
