काठमाडौं । नेपाल साहसिक पर्यटनका लागि संसारकै एक नमुना गन्तव्यको रूपमा रहेको छ । हुन पनि यहाँ संसारकै उच्च हिमाली क्षेत्र हुँदै गरिने पदमार्गहरू अनेकौँ रहेका छन् । जस्तैः– गोसाईँकुण्ड पास, नुमला बगाला पास, थोरोङ पास, शेर्पेनी कोल पास, टासी लाप्चा पास, से गुम्बा पास, तिङ्ग्री पास, आम्फु लाप्चा पास, चोला पास, तिलम्यान कोल पास, लार्के पास, मेराला पास, मिङ्बोला पास, सेलेले पास, लुम्बासुम्बा पास, लार्के भञ्ज्याङ पास, गणेश हिमाल पास, दोर्जे लाक्पा पास, रुबीभ्याली पास, थोरोङ–ला पास, तिलिचो पास, नार–फु पास, नीलगिरि हिमाल पास, दोल्फु–ला पास, धौलागिरि पास’ आदि । तापनि माथि उल्लेखित साहसिक पदयात्रा मार्गमध्ये पनि ‘शेर्पेनी कोल’का बारेमा केही लेख्दैछु ।
त्यसो त सम्भवतः ‘शेर्पेनी कोल’ संसारकै सबैभन्दा उच्च हिमाली क्षेत्र भएर पदयात्रा गरिने मार्ग हुन सक्छ । तर सो सम्बन्धमा अध्ययन–अनुसन्धान भएको, नभएको के–कसो हो ? पङ्क्तिकारलाई थाहा भएन । जे भए पनि पहिले–पहिले पदयात्रीहरूलाई यो पदयात्रा मार्गमा पदयात्रा गर्न २८–२९–३० दिनदेखि ३२–३३–३४ दिनसम्म लाग्ने गथ्र्यो । यो पदयात्रा मार्गमा धेरैअघिको समयमा पदयात्रा गर्नका लागि विदेशी पर्यटक काठमाडौं, इटहरी, धरान, धनकुटा बजार वा हिलेसम्म गाडीमा जान्थे भने त्यहाँबाट चाहिँ विदेशी पर्यटकहरूले पैदल यात्रा गर्थे । पछि तुम्लिङटारमा विमानस्थल बनेपछि हवाईजहाजमार्फत काठमाडौं अथवा विराटनगरबाट तुम्लिङटार सिधै जान्थे । तुम्लिङटारबाट चाहिँ विदेशी पर्यटकहरूको पैदल यात्रा सुरु हुन्थ्यो ।
अहिलेचाहिँ हिउँद याममा सडक यातायातको सुविधाका कारण संखुवासभा जिल्लाको चिचिला, नुम (हिउँदमा बाला ताम्कुसम्म) सम्मै गाडी चल्ने गरेको छ । त्यसैले अहिलेचाहिँ विदेशी तथा स्वदेशी पदयात्रीहरू हिउँद याममा चिचिला, नुम, बाला, ताम्कुसम्म जिप (गाडी) मा जाने गर्छन् । त्यहाँबाट बल्ल पैदल यात्रा थाल्छन् । पैदल यात्रा टाशी गाऊँ, याङ्ले खर्क, खोङमा–ला, मकालु बेस क्याम्प, बरुत्से बेस क्याम्प हुँदै शेर्पेनी–कोल पास गरेर सोलुखुम्बुको मेरा–ला, खारे, ठाङना, क्षेत्र–ला हुँदै लुक्ला पुगेर आफ्नो पदयात्रालाई अन्त्य गर्छन् भने केही पदयात्रीहरूले चाहिँ मेरा–ला अथवा बरुत्चेबाट आम्फु लाप्चा हुँदै छुकुङरी पास गरेर दिङबोचे, फेरिचे, पाङबोचे, तेङबोचे, नाम्चे, फाक्दिङ हुँदै लुक्लामा आएर पदयात्रा समाप्त गर्छन् ।
स्मरणीय के छ भने तुम्लिङटार संसारकै होचो उपत्यका पनि हो । आजभोलि धेरै जसो विदेशी पर्यटकहरू यो पदयात्रा मार्गमा पदयात्रा गर्न जहाजबाट तुम्लिङटारसम्म जाने गर्छन् । त्यसपछि तुम्लिङटारबाट खाँदबारी, मानेभञ्ज्याङ, चिचिला, नुम, बाला, ताम्कुसम्म गाडीमा जाने गर्छन् भने त्यहाँबाट पैदल यात्रा थाल्छन् । नुम, टासी गाउँ, खोङ्मा डाँडा, तुम्बुक, याङले, हिलारी बेस क्याम्प हुँदै शेर्पेनी कोल पास गरिन्छ । तुम्लिङटारको बारेमा सामान्य नागरिकहरूलाई पनि थाहा हुनुपर्छ कि यसलाई अरुण उपत्यका भनेर पनि चिनिन्छ भने यो संसारकै होचो उपत्यका पनि हो भन्ने त माथि नै पनि उल्लेख गरियो । शभाया खोला र अरुण नदीको डिलमा अवस्थित तुम्लिङटारमा मिश्रित जातिको बसोबास रहेको छ । हुन पनि अरुण उपत्यका केवल संसारको होचो उपत्यकाको रूपमा मात्रै सीमित नरहेर करिब छ सय प्रजातिका रंगीविरंगी चरा–चुरुङ्गीको बासस्थानका रूपमा पनि रहेकोे छ । त्यस्तै, कतिपय नेपालमा मात्रै पाइने रैथाने जातका चराहरू पनि यो उपत्यकामा पाइन्छ । त्यसबाहेक लोखर्के, मुसा, न्याउरी, बाँदर, ढेँडु, मलसाँप्रो, पाण्डा, कस्तुरी, मृग, थार, घोरल, स्याल, वन बिरालो, फ्याउरो, चितुवालगायत जंगली जनावरहरू पनि बाटामा प्रशस्तै देख्न/भेट्न सकिन्छ ।
यो पदयात्रा मार्गमा विभिन्न उपमार्गहरू रहेका छन् । तापनि मानेभञ्ज्याङ, चिचिला, नुम, सेदुवा, टासिगाउँ, याङ्लेखर्क, खोङ्मा डाँडा, नुम्बुक, हिलारीबेस क्याम्प हुँदै शेर्पेनी कोल (६,१२५ मिटर) मा क्याम्प गर्नुपर्छ भने यहाँ सीधा भिरालो (पर्वतारोहण–पदयात्राको भाषामा ‘स्टिभ–डाउन’ छ । यहाँको बाटो पूरा हिउँ नै हिउँले ढाकिएको हुन्छ, जहाँ नीलो जमेको ‘ब्लु आइस’को ढिक्काको बाटो क्रस गर्दै हिँडेर पास गर्नुपर्छ भने भोलिपल्टचाहिँ ६,२०० मिटरको हाराहारीको उचाइमा बरुणत्चे हिमालको क्याम्प–१ मा बास बस्नुपर्छ । यो पदयात्रा मार्गमा टासी गाउँसम्म मान्छेको बसोबास रहेको छ । त्यसपछिको प्रायः सबै क्याम्प खर्क र खाली चउरमा गर्नुपर्छ भने हिलारी बेसक्याम्पदेखि हिउँमाथि हिँड्न सुरु गर्नुपर्छ । हिलारी बेस क्याम्प ४,२०० मिटर उचाइमा छ । त्यस्तै, एक दिनचाहिँ नाक ठोक्किने उकालो बाटो हिँड्नुपर्छ भने शेर्पेनी कोल र बरुणत्चे–१ बीचको ६,२०० मिटरको सेरोफेरोमा पदयात्रीहरू यात्रा गरिरहेका हुन्छन् । उच्च हिमाली भेगमा अक्सिजन कम हुन्छ, त्यसमाथि हिउँमाथि यात्रा गरिरहेका हुन्छन्, थाकेको बेलामा बिसाउन र आराम गर्न पदयात्रीहरूका लागि सजिलोसँग बस्ने ठाउँ पनि हुँदैन । त्यसैले हिँड्दाहिँड्दै थकाई लागेमा हिउँमाथि नै थचारिएर सास फेर्छन्÷लिन्छन् । बिचराहरू ! त्यो बेला उनीहरूको हालत हेरिनसक्नु हुन्छ । त्यसमा पनि भरियाहरूको अवस्था बढी नै दयनीय हुुन्छ । कतिपय पदयात्री तथा भरियाहरू उच्च हिमाली भेगमा अत्यधिक चिसोका कारण लाग्ने अस्थायी रोग (फोक्सो र दिमागमा पानी जम्ने ‘हेप’ र ‘हेस’) को कारणले गर्दा सिकिस्तै हुन्छन् भने केहीको हिँड्दाहिँड्दै ज्यानै जान सक्छ । कोहीकोहीले त असावधानीका कारण डोरीबाट चिप्लिएर पनि सिल्टिमुर खान्छन् । स्मरणीय छ, शेर्पेनी कोल पास गरेर बरुणत्चे बेसक्याम्प आउने दिन लगभग ५०० मिटरजति त डोरी मात्रै टाँग्नुपर्छ । मान्छे, खाना, पाल, पर्यटकको सरसामान भएको बेडिङलगायत सबै सरसामान डोरीबाट नै पास गर्नुपर्छ । कतिपय भरियाहरूले भारी बोक्न नसकेर खानाको भारी बाटो (हिऊँमै !) छाडेर पनि हिंँड्छन् । हुन पनि ज्यानभन्दा ठूलो त होइनन् ती खानेकुरा र सरसामानहरू !
त्यस्तो अप्ठेरो र कठिन बाटो भए पनि छ पटकसम्म विगतका दिनमा ओहोरदोहोर गरेका संखुवासभा जिल्ला, पाङ्मा (हाल अस्टे«लिया बस्छन्) गाउँका युद्ध लोहोरुङ (राई) आफ्नो अनुभव पूर्वेली लवजमा यसरी सुनाउँछन् –‘अरे हौ सोल्टी, शेर्पेनी कोल त नेपालको सबैभन्दा अप्ठेरो र खतरापूर्ण पास हो नि ! तगडा शेर्पां (पदीय हिसाबले गाइड गर्ने मान्छे) भएन भने त खत्तमै हुन्छ नि ! डोरी कसले टाङ्ने ? भरियाहरूलाई कसले सहयोग गर्ने ? ग्रुपलाई कसले डोर्याउने? त्यसमाथि तिर्खा लाग्दा पानी पिउन पाइँदैन । त्यसमाथि दिउँसोको चर्को घाममा हिउँ टल्किएर आँखाले केही देखिँदैन । त्यस्तै, सामान पास गर्ने मान्छेले गलत ढंगले संंकेत ग¥यो भने दूर्घटना हुने सम्भावना हुन्छ ।’
त्यसैले त यो मार्गमा हत्तपत्त कुनै पनि विदेशी पदयात्रीहरूले पदयात्रा (ट्रेकिङ) गर्दैनन् । जसले यो मार्गमा पदयात्रा गर्छन्, ती जुनसुकै देशका होऊन्,आफूलाई साह्रै गौरवान्वित र भाग्यमानी भएको ठान्छन् । किनभने यो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पर्यटकहरूले विश्वकै उच्च हिमाली भेगको पास एवम् खतरापूर्ण र साहसिक पदयात्रा गर्न सफल हुन्छन् । हो, यो मार्गमा पदयात्रा गर्न वास्तवमै विश्वका साहसिक पदयात्रीहरूले मात्रै आँट गर्ने गर्छन् । किनभने, तीन–चार दिनसम्म हिउँ नै हिउँमा हिँड्नुपर्छ । त्यसमाथि शेर्र्पेनी कोल पास गर्नका लागि हिमाल चढ्ने सामान्य प्राविधिक ज्ञानको जरुरी पनि रहेको हुन्छ । कतिपय पदयात्रीहरू एक्युपमेन्ट तयार गरेर शरीरमा फिट गरी पठाउँदा समेत बीचमा पुगेपछि आत्तिन थाल्छन् । त्यसो त विगतका दिनमा सूचना र सञ्चारको अभाव तथा मानव बस्तीविहीनताका कारण बीच बाटोमा केही गरी विदेशी पर्यटकहरू अथवा नेपाली स्टाफहरू बिरामी भई हालेमा उद्धारका लागि हेलिकोप्टर मगाउन पनि असम्भव हुन्थ्यो । केही गरी बिरामीलाई बचाउन सके वा बिरामी बाँचेमा बाँकी स्वस्थ मान्छेले सकीनसकी बोकेरै उद्धार गर्थे । केही गरी विदेशी पर्यटक मरेमा उसको लासलाई बोकेरै सुगम ठाउँसम्म ल्याइन्थ्यो । त्यसपछि हेलिकोप्टरले लास रेस्क्यु गथ्र्यो । सुन्दा नमीठो लागे पनि केही गरी नेपालीहरू मरिहालेमा चाहिँ लास त्यतै छाडिन्थ्यो । किनकि, त्यो बेला नेपालीहरूको दुर्घटना बीमा नै हुन्थेन, गरिन्थेन । हुन पनि त्यस्तो अन्नकन्टार र हिउँ नै हिउँको बाटोमा कोही बिरामी भई हालेमा बिरामीका साथ अरू दुई–तीन जना स्टाफलाई साथ लगाएर पठाउनुपर्ने अवस्था सिर्जना हुन्थ्यो । किनभने त्यस्तो उचाइ र अनकन्टार ठाउँबाट बिरामी एक्लै जिउँदै फर्केला भन्ने आशा गर्न सकिँदैन थियो, सम्भावना पनि हुँंदैनथ्यो । फेरि बाटोमा खाने खाना, बास बस्ने पाल र साथीविना बिरामीलाई एक्लै पठाउने कुरो पनि भएन ।