काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै करिब १५ लाख रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । अमेरिका पठाइदिन्छु भन्दै १४ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा घर भई काठमाडौंको सामाखुसी बस्ने ४६ वर्षीया पार्वती थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थापाले वैदेशिक रोजगारीका लागि अमेरिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक तीन लाख ५० हजार रूपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै एक जनालाई प्रलोभनमा पारेकी थिइन् । उनले पीडितबाट पटक पटक गरी उक्त रकम लिएकी थिइन् ।
रकम लिएपछि सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं समाखुसीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।