काठमाडौं । प्रहरीले गोली हानेर दुईजना होनहार युवालाई मारेपछी शीप बिल्डिङतर्फ आवेदन दिएका सबैलाई ’म्यानुफ्याक्चरिङ’ क्षेत्रको काममा कोरिया जान आवश्यक कोरियन भाषा परीक्षा (इपिएस)मा सहभागी गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले आज(शुक्रबार) आन्दोलनरत सबैलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।
‘निवेदकहरूलाई आवेदन फारम भर्नबाट बञ्चित गर्न मनासिब नहुँदा निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई मंसिर १९ गतेको सूचना बमोजिम पुस २ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ,’ न्यायाधीश ज्ञवालीले जारी गरेको आदेशमा उल्लेख छ ।
इपिएस परीक्षामा सहभागी हुन नपाएको भन्दै आज बालकुमारीमा प्रदर्शन भएको छ । त्यसक्रममा ग्वार्कोमा इपिएस परीक्षार्थीहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको बा २ झ ५९६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । कोरिया जानका लागि ईपीएस परीक्षा दिन फाराम नै भर्न नपाएको आक्रोशमा भएको उक्त आन्दोलनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्युसमेत भएको छ ।