काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने अनुमानका बीच सुनको मूल्यमा नयाँ उचाइ बन्दै गएको छ । यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाली बजारमा गत साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख १९ हजार रुपैयाँ रहेको सुनको मूल्य अन्तिम दिन शुक्रबार नयाँ रेकर्ड बनाउँदै एक लाख २० हजार सात सय रुपैयाँ पुग्यो । यस सता पनि सुन बजारमा थप महँगिने संकेत देखिएको व्यवसायीहरू बताउँछन् ।
गत साता नेपाली बजारमा चाँदीको मूल्यमा पनि उतारचढाव देखियो । साताको पहिलो दिन आइतबार प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार चार सय ९० रुपैयाँ पुगेको थियो । तर शुक्रबार फेरि घटेर एक हजार चार सय ५५ रुपैयाँ कायम भएकोे छ ।
अन्तर्राष्ट्रिय बजारमा सन्् २०२३ मा सुनको मूल्य लगभग १५ प्रतिशतले बढेको छ । अक्टोबरमा १३ प्रतिशतले घटेको मूल्य डिसेम्बरमा बढेपछि समग्रमा सुनको मूल्यमा वृद्धि देखिएको हो ।
सुनको मूल्यले अमेरिकी डलरसँग उल्टो सम्बन्ध राख्छ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका नीतिहरुले पनि सुनको मूल्य प्रभावित हुन्छ । फेडले अझै अर्को दर वृद्धिको सम्भावनालाई अस्वीकार नगरेको भए पनि तत्काल बढाइहाल्ने संकेत देखिएको छैन । ब्याजदरहरू तल आउने अपेक्षा गरिएको अवस्थामा सुनको मूल्य बढ्न सक्ने आधार बनेको विश्लेषण गरिएको छ । यस्तै, विभिन्न मुलुकमा जारी द्वन्द्वका कारण पनि लगानीकर्ताले सुरक्षित लगानीको रूपमा सुनमा लगानी बढाउने भएकाले नयाँ वर्षमा सुनको मूल्य थप बढ्न सक्ने आकलन गरिएको छ ।