काठमाडौं, जेठ ११
कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ)बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको हो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यान्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सक्रियतामा नेपाली श्रमिकलाई वितरण भइरहेको बताए ।
गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको हो । कतारमा ३ लाख ५० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ । यसअघि संघका विभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए । कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए ।