काठमाडौँ । प्रहरीले शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई रिहा गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका सबैजनालाई छाडिएको र उनीहरुलाई मुद्दा नचलाउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सो प्रदर्शनका क्रममा थुनामा रहेका सबै रिहा भएका हुन् ।
उक्त प्रदर्शनका क्रममा अछामको चौरपाटी गाउँपालिका–१ का २२ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावतको मृत्यु भएको थियो । सरकारले ज्यान गुमाएका रावत र शाहका परिवारलाई जनही रु. १० लाखका दरले राहत उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
प्रहरीले उनीहरुलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडीमा आगजनी गरी भौतिक सम्पत्तिमा समेत तोडफोड गरेको आरोपमा पक्राउ गरी थुनामा राखेको थियो ।